आज देशभर वर्षा र हिमपातको सम्भावना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पश्चिम वायुको प्रभावले उच्च पहाडी भागमा भारी वर्षा रहिमपात हुने भएको छ ।
आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘उपत्यकामा आज बिहानैदेखि पानी पर्छ र दिउँसो पनि बादल लागिरहनेछ। यो क्रम शुक्रबारसम्म चल्नेछ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागमा भारी वर्षा समेत हुने सम्भावना देखिएको छ ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्ले नगरकोटीले जानकारी दिनुभयो ।

यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति भने देशभर सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले जनाकारी दिनुभयो ।

गत पुस २३ गतेयता पश्चिमी वायू प्रभाव तिब्र रुपमा पर्दै आएको छ । पश्चिमी वायूको प्रभावले पुस २३ गते यस वर्षको पहिलो हिउँदे वर्षा समेत भएको थियो।

माघ पहिलो साता आएको अर्को पश्चिमी वायूको प्रणालीले देशभर कतै भारी वर्षा त कतै भारी हिमपात भएको थियो। यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले माघ ११ र १२ गते पनि भारी वर्षा भएको थियो ।