शव पोष्टमार्टमका लागि डोकोमा बोक्नुपर्ने वाध्यता, ५० हजारसम्म खर्च

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको दूरदराजमा रहेका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित मृतकको पोष्टमार्टम गर्ने व्यवस्था नहुँदा विभिन्न समस्या झेल्नुपर्ने वाध्यता छ ।

प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र चिसापानीमा नियमित पोष्टमार्टम गर्ने व्यवस्था नहुँदा पोष्टमार्टमका लागि डोको तथा ट्याक्टरमा शव बोकेर लामो दुरी पार गर्नका साथै अत्याधिक खर्च ब्यहोर्नु पर्ने जस्ता वाध्यता झेल्नु परेको हो ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक समयमा पोष्टमार्टम नहुँदा झुण्डिएर वा बिष सेवन गरेर आत्महत्या गरेका, हत्या गरिएका र लडेर मृत्यु भएका शवलाई डोको तथा ट्याक्टरमा हालेर दिक्तेलमा रहेको जिल्ला अस्पताल वा उदयपुर पुर्याउनुपर्ने बाध्यता रहेको छ । एमविविएस डाक्टर नहुँदा ऐसेलुखर्क क्षेत्रका स्थानीयलाई ट्याक्टरमा शव बोक्न मात्र ५० हजारसम्म भाडा तिर्नुपर्ने अवस्था रहेको छ । शव बोक्ने सवारी साधनको भाडा, ओहोर–दोहोर गर्ने आफन्तका लागि गर्नुपर्ने खर्चले कतिपय स्थानीय ऋणमै भासिन बाध्य छन् ।

ऐसेलुखर्क गाउँपालिकाभित्रका पोष्टमार्टम गर्नुपर्ने प्रकृतिका शवलाई जिल्ला अस्पतालसम्म पुर्याउनका लागि आफन्तलाई १० हजार दिने गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । कार्यरत डाक्टर कालीप्रसाद यादव सरकारी कोटामा नाम निकालेर एमडी अध्ययनका लागि गएको र छात्रबृत्तिमा करार स्वरुप आएका डाक्टर अस्वीन भट्टराई कान्ति बाल अस्पतालमा सरुवा भएपछि गत असोजदेखि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क डाक्टर विहिन रहेको गाउँपालिका प्रमुख निरौलाको भनाई छ ।

डाक्टर नहुँदा पोष्टमार्टम मात्र नभई अन्य उपचार सेवा समेत प्रभावित वनेको छ । डाक्टर चाहियो भन्दै जनताले घेर्ने गरेकाले डाक्टरका लागि तीन पटक मन्त्रालय पुगेको गाउँपालिका प्रमुख निरौलाले सुनाउनुभयो । पुसमा डाक्टर पठाइसक्यौं भने पनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँले जनाउनुभयो ।

यता, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पनि डाक्टर नियमित नहुँदा जन्तेढुंगा, बराहपोखरी र खोटेहाङ गाउँलिकाका पोष्टमार्टम गर्नुपर्ने प्रकृतिका कतिपय शवलाई उदयपुर पु¥याउने गरिएको छ । गाउँपालिका प्रमुख शंकर राईका अनुसार अध्ययनका कारण प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा डाक्टरको उपस्थितिलाई नियमित गर्न सकिएको छैन । स्वास्थ्य शाखाका संयोजक पवन पोखरेलले भने डाक्टरकै कारण चिसापानीमा पोष्टमार्टम नरोकिएको बताए । पोखरेलका अनुसार उदयपुर नजिक पर्ने ठाउँका शव उदयपुरतिरै लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीका अनुसार गत साउन यता खोटेहाङ र बराहपोखरी गाउँपालिका आसपासबाट १० वटा शव पोष्टमार्टमका लागि उदयपुर पुर्याइएको छ । यही आर्थिक वर्ष सुरु भए यता ऐसेलुखर्क गाउँपालिका क्षेत्रबाट ३ वटा शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको तथ्यांक छ ।

सडकको दुरावस्थाका कारण कतिपय अवस्थामा ट्याक्टर चालकले शव वोक्न नमानेपछि डोकोमै वोक्नुपर्ने अवस्था आउने गरेको छ । गत भदौ ४ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ मझौका महेन्द्रबहादुर खत्रीको शव डोकोमा बोकेर अस्पताल पुर्याइएको थियो ।