रुकुम पुर्व सदरमुकाम विवादः गोलखाडा पक्षधरको शक्ति प्रर्दशन

0
Shares

आफ्नो ठाँउका सबै सरकारी कर्मचारी फिर्ता पठाउने उद्घोष

धनवीर दाहाल,रुकुम ।
रुकुम पुर्वको सदरमुकामको मुद्धा सर्वाेच्च अदालतमा विचाराधिन रहेको अवस्थामा रुकुमकोट हुनुपर्छ भन्ने पक्ष र गोलखाडा हुनुपर्छ भन्ने पक्षले आ आफ्नो आन्दोलन चर्कारहेको बेला बुधबार गोलखाडा पक्षधरले बृहत शक्ति पर्दशन गरेका छन् ।

अस्थायी सदरमुकाम रहेको रुकुमकोटमा पर्दशन तथा ज्ञापन पत्र बुझाउन हिडेपनि रुकुमकोटमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका कारण धौलापैरामै कोण सभा गरिएको छ । हजारौंको संख्यामा आएका गोलखाडा पक्षधरले जसरी पनि गोलखाडामै स्थायी सदरमुकाम हुनुपर्ने बताएका छन् ।

२०७४ साल माघ ११ गतेको सरकारले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेपछि रुकुमकोट पक्षधर निर्णयको विरोधमा लागेका थिए भने गोलखाडा पक्षधर निर्णयको पक्षमा लागेर खुसी मनाएका थिए ।

सरकारको निर्णय खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दायर भएपटि उक्त मुद्दा हाल विचाराधिन छ । मुद्दाको पेसी यही माघ २७ गते तोकिएको छ । उक्त पेसी तोकिएको दिन नजिकिँदै जाँदा दुवै पक्षले दबाबमूलक कार्यक्रम गरिरहेका हुन् । गोलखाडा पक्षधरले गरेको कोणसभामा बोल्दै सरोकार समितीका नेताहरुले आफुहरुको लागी सरकार नभएको बताए ।

रुकुमकोटका लागी हेलीकप्टरबाट सुरक्षा दिनुपर्ने तर आफुहरुलाई भएभरको राज्य शक्ति प्रबेश निषेध गरिएको उनीहरुको दुखेसो छ । सिस्ने गाँउपालिकाको धौलापैरामा भएको कार्यक्रममा उनीहरुले यस्तो दुखेसो गरेका हुन् । आफुहरुले चुनेका प्रतिनिधिले समेत वास्था नगरेको भन्दै राजीनामा दिन समेत चुनौती दिएका छन् ।

आफ्नो क्षेत्रमा रहेका सबै सरकारी कर्मचारीलाई फिर्ता पठाउने समेत उनीहरुले बताएका छन् । गोलखाडा सरोकार समितीका सदस्य एवं नयाँ शक्ति पार्टीका नेता जितमान पुन मार्सलले आफुहरुको लागी राज्य नभएको अनुभुति भएको बताए ।

उनले भने “हाम्रो लागी गाँउमा सरकार छैन । अव हामी सबै सरकारी कर्मचारी फिर्ता पठाउँछौ ।” रुकुम पुर्वका बिभिन्न दुर्गम गाँउबाट चार दिन हिडेर धौलापैरा सम्म मात्र पुगेका गोलखाडा पक्षधरले रुकुमकोट पुग्न नपाएकोमा आक्रोश पोखेका छन् ।

यता रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले रुकुमकोट आसपासमा आइतबार जारी गरेको निषेधाज्ञालाई झनै कडाई गरेको छ भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी बाक्लो मात्रामा परिचालित भएका छन् ।