रुकुमकोटमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन, निषेधाज्ञामा झनै कडाई

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई झनै कडाई गरेको छ भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी बाक्लो मात्रामा परिचालित भएका छन् । स्थायी सदरमुकाम बनाउने निर्णय गरिएको पुथाउत्तरगंगा गाउँपालिका–१२, गोल्खाडा र त्यस आसपासका सर्वसाधारण ज्ञापन पत्र बुझाउन रुकुमकोट आउने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको हो ।

यस अघि नै सुरक्षाकर्मी दोब्बर पारेको प्रशासनले बुधबार बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टर मार्फत रुकुमकोट झारेको छ । अझै ६० जनाको सुरक्षाकर्मी बुटवलमा तयारी अवस्थामा रहेको बताइएको छ । सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनको लागि भन्दै ५ हजार बढी सर्वसाधारण बाटोमा रहेको रुकुम पूर्वको स्थायी सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सदस्य पुनिराज घर्ती मगरले बताउनुभयो । २०७४ माघ ११ गतेको मन्त्री परिषदको बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो ।

निर्णय खारेजीको माग गर्दै सर्वाैच्च अदालतमा रिट परेपछि उक्त निर्णय कार्यान्वयन हुन पाएको छैन । २०७४ माघ १७ गते परेको रिट उपर सुनुवाई गर्दै अदातलते तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपटि अदालतले १६ औं पटक सम्म उक्त मुद्धाको पेसि सारीसकेको छ । पछिल्लो पेसि यही माघ २७ गते दिन नजिकिँदै जादा दुवै क्षेत्रका सर्वसाधारण आन्दोलनमा छन् ।