“कोख मेरो सन्तान कसको ?”

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
बाबुको नामबाट मात्र नागरिकता दिने प्रचलनका कारण न्यायिक पीडामा परेका पीडितले न्याय र समानताको माग गर्दै बृहत फोटो प्रदर्शनी गरेका छन्।

महिला, कानुन र विकासमञ्चको आयोजनामा सोमबार कला परिषद्को हलमा ‘कोख मेरो सन्तान कसको रु’ नागरिकताविहीन व्यक्तिहरूसँग सम्बन्धित फोटो प्रदर्शनी शुरु भएको छ। प्रदर्शनीको साथमा भक्तपुरमा घटेको वास्तविक घटनालाई उजागर गरिएको नाटकसमेत प्रदर्शन गरिएको थियो।

विस। २०७१ साल श्रावणमा भक्तपुरमा घटेको घटनालाई नाटकका रूपमा उजागर गर्दै देशमा संघीयता आए पनि न्यायिक स्वतन्त्रता नभएको उजागर गरिएको थियो। नाटकमा वैदेशिक रोजगारीका कारण आफूले आफ्नो श्रीमानबाट जीवनभरका लागि टाढा हुँदाको पल, त्यसमा पनि आफ्नो छोराले बुवाको अनुपस्थिति तथा जन्मदर्ता नहुँदा नागरिकता नपाएको पीडालाई प्रस्तुत गरिएको थियो।

वर्तमान संविधानले आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउने प्रावधान गरे तापनि त्यो हाल कार्यान्वयन भएको पाइँदैन। नाटकको प्रस्तुतीमा कानुनी अधिकारको माग गर्दा जनप्रतिनिधिले नागरिकताका लागि सिफारिस नदिने र प्रशासनद्वारा नागरिकता वितरण नगर्ने गरेको दुःखेसोमूलक तथा सन्देशमूलक प्रस्तुती रहेको थियो।

नाटकमा छोरीले एक्लो हुँदा आफ्नो परिवार, आफन्त तथा समाजमा हुने गरेको अपहेलनालाई जस्ताको तस्तै प्रस्तुत गरिएको थियो। नारीले पुरुषकै कारण सहनुपरेको पीडा त उनका लागि मात्र भयो। तर उनीबाट जन्म लिएको त्यो अवोध बालकले समेत नागरिकताबाट वञ्चित भई राज्यबाट पाउने कुनै पनि सेवा सुविधाबाट वञ्चित हुनुपरेको वास्तविक घटनालाई नाटकको माध्यमबाट उजागर गरिएको छ। फोटोले देशमा भएका तथा पीडित महिलाको भनाइलाई समेटेको छ। उक्त प्रदर्शनी चार दिनसम्म चल्ने आयोजकले जनाएको छ।