स्कुले बालिकाले भने, ‘हामी नेतृत्व लिन सक्षम छौ’

0
Shares

हिक्मत नेपाली, दैलेख ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १ बेलपाटाका स्कुले बालिकाहरुले सबै क्षेत्रमा आफुहरु सक्षम रहेको बताएका छन् । यहाँको त्रिवेणी संगम माध्यामिक विद्यालयमा अध्यननरत बालिकाहरुले सक्षम भएको बताएका हुन् । आज डुङ्गेश्वर गाउँपालिका वडा नं. १ बेलपाटाको आयोजना र बालिका बचाउ आत्मरक्षक अभियान, इन्सेक दैलेख र त्रिवेणी मावीको समन्वयमा बालिका हिंसा विरुद्ध अन्तरसंवाद कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् ।

अभियानका संयोजक सजना सुनारले बालबालिकाको भविष्यको लक्ष निर्धारण, यौन हिंसा तथा दुव्र्यवहार, बाल विवाह तथा बालिका माथी हुने हिंसाबारे जानकारी गराउनुभएको थियो । त्यस लगत्तै स्कुले बालिकाहरुले ‘हामी सक्षम छौ, म नायक हो, मेरो सपना छ, म गरिब होइन, म स्वतन्त्र छु जस्ता संदेश दिए । यस्तै म संग ताकत छ, म नेतृत्व गर्न सक्छु, म छोरी भएर जन्मनु भन्दा पहिला एक मानव हुँ भन्दै आफु जुनसुकै विषयमा सक्षम भएको बताए ।

बालिकाहरुलाई अभियानकी संयोजक सुनारले भविष्यको लक्ष्य लिन र सपना देख्न किन जरुरी छ, सपनाले मान्छेलाई कसरी प्रगतीको बाटोमा डो¥याउछ, सपना र लक्ष्य कसरी तय गर्ने बारे बालिकाहरुलाई जानकारी गराएकी थिइन् । सुरुमा तपाईले सपना देख्नुभएको छ की छैन, भविष्यको केहि लक्ष लिनुभएको छ ? भनेर सोध्यौ तर उहाँहरु बोल्न समेत लजाउनुभयो, अभियानकी संयोजक सुनारले भन्नुभयो ।

बालिकाहरु जन्मदै असक्षम होइनन्, उनिहरु हरेक क्षेत्रमा सक्षम छन्, बालिकाहरु पनि नेतृत्व लिन सक्छन् भन्ने विषयमा अभिमुखिकरण पछि उनिहरुले एकै स्वरमा खुलेरै आफुहरु सक्षम भएको बताएका हुन् । स्कुले बालिकाहरुले आफ्नो रुची र क्षमता अनुसार भविष्यको लक्ष्य योजना र योजना कार्यान्वयन प्रतिवद्धता जनाएका छन् । संयोजक सुनारले यौनजन्य हिंसा तथा दुव्र्यवहार, बालविवाह लगायतका सामाजिक समस्यासंग प्रतिरोध गर्ने, तार्किक क्षमतासंगै आफै भित्रका सकारात्मक सोचलाई बढावा दिनुपर्ने बताउनुभयो । सुरुमा आफ्नो नाम भन्न समेत लजाएका स्कुले बालबालिकाहरुले अभिमुखीकरण पश्चात आफुहरु सक्षम रहेको बताएका हुन् ।

त्रिवेणी बाल अधिकार चेतना समुहको अध्यक्ष यमुना थापामगरले बालिकाहरु कुनै पनि क्षेत्रमा कमजोर नभएको बताउनुभयो । ‘सानै उमेर देखि सुन्दर भविष्यको सपना देखे सफल भइन्छ,’ उहाँले भन्नुभयो ‘हरेक बालिकाले आफ्नो क्षमता अनुसारको भविष्य निर्धारण गर्नुपर्छ ।’ उनि जस्तै सोहि विद्यालयमा अध्ययनरत बन्दना थापाले कोहि कसैले आफुमाथी आक्रमण गर्न खोजे सहेर नबस्ने बताउनुभयो । बालिका माथी हुने यौन जन्य हिंसा विरुद्ध सम्पूर्ण बालिकाहरु एकजुट भई आफुलाई कमजोर ठान्न नहुने धारणा सोहि विद्यालयकी पुर्णीमा गरुङ्गको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओम पराजुलीले बालिका बचाउ अभियानले स्कुले बालिकाको सकारात्मक सोचमा बृद्धि हुने बताउनुभयो ।

डुङ्गेश्वर गाउँपालिका वडा नं. १ बेलपाटाका वडाध्यक्ष लोक बहादुर डांगीले बालिका माथी हुने यौनजन्य हिंसा अन्त्यका लागि सर्वप्रथम बालिकाहरुलाई सक्षम बनाउनुपर्ने बताउनुभयो । सोहि अबसरमा वडाका जनप्रतिनीधि, शिक्षक तथा विद्यालयका बालकहरुले बालिका माथी हुने यौनजन्य हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको भन्दै हस्ताक्षर गरेका छन् ।

दैलेखमा संचालन भएको बालिका बचाउ आत्मरक्षम अभियान बालिकामाथि बलात्कार तथा यौनजन्य घटनाहरू श्रृंखलाबद्ध रूपमा हुन थालेपछि यस्ता घटनाहरूलाई निराकरण गर्ने लक्ष सहित सुरु गरिएको हो । यौनजन्य दुव्र्यवहार र बलात्कारविरुद्ध ऐक्यबद्धता, बालिका बचाउन हाम्रो प्रतिबद्धता भन्ने नारा बोकेर ‘बालिका बचाउ’ आत्मरक्षक अभियानले हाल सम्म नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिकाका विभिन्न विद्यालय र समुदायमा बलात्कार र यौनजन्य दुव्र्यवहारको बारेमा जानकारी गराउनुका साथै सुरक्षा निकायको सहयोगमा आत्मरक्षकको अभ्यास गराउँदै आएको छ ।