५ नम्बर प्रदेश सभाको बैठकः प्रमुख प्रतिपक्षी दल कांग्रेसद्धारा अवरोध

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ प्रदेश सभाको शुक्रवारको हिउँदे अधिवेशनको १३ औं बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरुले अवरोध गरेसंगै स्थगित भएको छ ।

सभामुख पूर्णवहादुर घर्तीले बैठकको कारवाही सुरु गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अघि नबढाउन सभामुखलाई आग्रह गर्नुभयो ।

त्यसपछि सभामुख घर्तीले आफ्ना कुरा राख्न प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेललाई समय दिनुभयो ।

त्यसक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश ५ का प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलले डा. गोविन्द केसीले विगत २४ दिनदेखि लगातार अनसन वस्दा पनि सरकारले केसीका मागमा कुनै सम्वोधन नगरेको भन्दै विरोध जनाउनु भयो ।
उहाँले केसीले उठाएका माग जनताको भएको र सरकारले माग सम्वोधन गर्नुपर्ने बताउनु भयो ।

साथै नेता पोखरेलले निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि महिनौं वितिसकेपनि सरकारले अपराधी पत्ता लगाउन नसकेको भन्दै विरोध जनाउनु भयो ।

पोखरेलले डा. गोविन्द केसी जीवन मरणको संघारमा रहनुभएको भन्दै केसीको जीवन रक्षा महत्वपूर्ण सवाल भएको र निर्मला पन्तको हत्या भएको पनि लामो समय हुँदापनि अपराधी पक्राउ नपर्नु दुःखद भएको भन्दै प्रदेश सभाको बैठक अवरोध गर्नुपरेको बताउनु भयो ।

पोखरेलले सम्वोधन गरेपछि सभामुख घर्तीले पुनः सदन अघि बढाउने प्रयास गर्नुभयो तर कांग्रेसका सांसदहरु उठेर सदन अवरोध गरिरहेपछि पाँच मिनेटका लागि विरोध गर्ने समय दिनुभयो ।

तर सांसदहरुले प्रदेश सभाको वैठकमा अवरोध जारी राखेपछि सभामुख घर्तीले अर्को बैठक माघ २२ गते दिनको १ वजे वस्नेगरी शुक्रवारको वैठक स्थगित गर्नुभयो ।

बैठक स्थगित भएपछि प्रतिकृया दिदै नेपाली कांग्रेसका तर्फवाट प्रदेश सभाकी सचेतक निर्मला क्षेत्रीले डा. गोविन्द केसीको अनसन लामो समय भएपनि सरकारले कुनै सुनुवाई नगरेको र सम्वाद समेत नगरेकोले केसीको जीवन रक्षाका लागि आफूहरुले सदन अवरोध गरेको बताउनु भयो ।

क्षेत्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ६ महिना वितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेको र मुलुक अपराधीकरणतर्फ अघि बढेकोले पनि सरकारले यो विषयलाई सम्वोधन गर्नुपर्ने माग राख्दै प्रदेश सभा अवरोध गरेको बताउनु भयो ।

प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फवाट प्रदेश सभा अवरोध यो पहिलोपटक हो भने यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा १० मिनेट र प्रदेश सरकारको बजेटका विषयमा स्पष्ट पार्न भन्दै प्रदेश सभा अवरोध भएको थियो ।