स्थानीय ठग्दै वित्तीय संस्था

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
महाकाली नगरपालिकाको दोधारा–चाँदनीमा वित्तीय संस्थाले कर्जा उठाउँने भन्दै स्थानीयलाई सताउने गरेको पाइएको छ । दोधारा–चाँदनीका विभिन्न क्षेत्रमा समुहगत रुपमा ऋण लगानी तथा बचत सेवा प्रवाह गर्नका लाागि स्थापना गरिएको वित्तीय संस्थाले स्थानीयलाई चर्को ऋणका साथै समयमा ऋण प्रवाह नगर्ने गरेको र बचत फिर्ता गर्न आनाकानी समेत गर्ने गर्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।

नेशनल माईक्रो फाईनान्स शाखा कार्यालय सुडा, कञ्चनपुरको नाममा दोधारा–चाँदनीमा पनि कारोबार गर्दै आएको बित्तिय संस्थाले नियमित ग्राहकलाई पनि समयमा ऋण प्रवाह नगर्ने, एक वर्ष हुँदा सम्म पनि पासबुक नदिने, ब्याजका लागि आनाकानी गर्ने गरेको माहाकाली–७ की भुमा सार्कीले बताइन् ।

माहाकाली नगरपालिकाको दश वडा तथा टोल–टोलमा समुह बनाई बचत संकलन संगै ऋण प्रवाहको नाममा उक्त वित्तीय संस्थाले समस्या नै समस्या मात्रै निम्त्याउने गरेको र आफुहरुलाई ठग्ने गरेको स्थानीयहरुको आरोप छ ।

नेशनल माईक्रो फाईनान्स शाखा कार्यालय सुडाले उपशाखा कार्यालय माहाकाली नगरपालिकामा पनि सञ्चालन गर्दै आएको छ । बित्तिय संस्थाले ऋण चुक्ता गर्न दिएको रकम ५ महिना सम्म उक्त संस्थाका कर्मचारीले ब्याज चुक्ता नगरेर ४० हजार आफ्नो खाता नदेखाएको स्थानीय लक्ष्मी थापाले बताइन् । लामो झगडा र धेरै दिनको वार्ता पश्चात मात्र उक्त रकम आफ्नो बचतमा राखिएको थापाको आरोप छ । उनले थपीन्, ‘मेरो ४० हजारको ५ महिनाको ब्याज समेत पाएन ।’

नेशनल माईक्रो फाईनान्सका कर्मचारी फिल्डमा जाँदा १ लाख ५० हजार ऋण पाउँनुहुन्छ भनेर समुहमा फारम भर्न लगाउँने तर कार्यालयमा पुग्दा भने एक लाख हात थमाएर पठाउँने गरेको स्थानीयहरुको अर्को गुनासो छ ।

दोधारा–चाँदनीका दर्जनौ महिलाहरुलाई उक्त वित्तीय संस्थाले झुक्याउँदै आएको बताइएको छ ।

सबै ऋण चुक्ता गरेर आफ्नो बचत रकम फिर्ता पाउँ भनेर बारम्बार अनुरोध गर्दा गर्दै महिनौ बित्दा समेत आफ्नो बचत रकम फिर्ता समेत नगरेको माहाकाली– ७ की सुधा श्रेष्ठको गुनासो छ ।

‘बचत गरेको पैसा फिर्ता गर्न मान्दैनन् । ऋण पनि दिन मान्दैनन्’ नेशनल माईक्रो फाईनान्सको समुहमा आबद्ध एक महिलाले बताइन् । महाकाली नगरपालिकामा सञ्चनलनमा रहेको उक्त वित्तीय संस्थाले स्थानीयको लगानीलाई मात्रै समय बिनाको खेती बनाएको स्थानीय बुद्धिजीविहरुको तर्क छ ।