यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिकाका विद्यालयहरुमा विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको सेवक नेपालले शुक्रवार महिनावारी स्वच्छता सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ । बेदकोट नगरपालिकाको वडा नं. ८ स्थित बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अभिमुखिकरण तालिममा महिनावारी भएको समयमा सरसफाई कसरी गर्ने सम्बन्धि जानकारी दिएको छ । उक्त कार्यक्रमले विद्यार्थीहरुका माध्यमबाट घर परिवारमा रहेका अन्य सदस्यलाई पनि सूचना तथा यौन शिक्षाको सकारात्मक सन्देश प्रवाह हुँने सेवक नेपालकी धर्मा रोकायाले बताइन् । महिनावारीका समयमा सुरक्षित कोठामा सुत्ने र यौनजन्य हिंसाबाट कसरी जोगिने भन्ने सन्दर्भमा विद्यार्थीलाई प्रशिक्षित गरेको रोकायाले बताइन् ।

विगत लामो समय देखि बेदकोट नगरपालिका लगायत अन्य नगरपालिकाहरुमा समेत यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि उक्त संस्थाले कार्यक्रम गर्दै आएको छ । यस अघि सेवक नेपालले बेदकोट नगरपालिकाका वडा नं. ४ बगुनमा रहेको सिद्ध बैजनाथ माध्यमिक विद्यालय, वडा नं. ५ धरमपुरको सरस्वती माध्यमिक विद्यालय, वडा नं. ६ को सिद्धनाथ माध्यमिक विद्यालय लगायत अन्य विद्यालयमा समेत यौन तथा प्रजनन शिक्षा सम्बन्धि कार्यक्रम र विद्यार्थी माझ सचेतना जगाउँदै आएको छ । विद्यालयहरुमा खेलकुद तथा सरसफाईका सामाग्री वितरण गरेकोे छ ।

सेवक नेपालले बेदकोट नगरपालिकाका आठ विद्यालयहरुमा सोहि कार्यक्रमको क्षेत्र उजागर गर्नका लागि र बालकालिकाको सर्वाङ्गीण विकासका लागि बाल क्लब गरेको छ । धर्मा रोकायाले सहजीकरण गरेको कार्यक्रममा सेवक नेपालका टेकेन्द्र रावलको पनि उपस्थिती रहेको थियो । सेवक नेपालले स्वास्थ्य तथा शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको बेदकोट–१० हरपाल टोललाई पुर्ण सरसफाई उन्मुख टोल छनौट गरेको छ ।