मापदण्डविपरीत क्रसर उद्योग सर्वोच्चको फैसलालाई लत्याउँदै निर्माण कार्य जारी

0
Shares

मनोज भट्ट, महेन्द्रनगर
कञ्चनपुरको बेदकोट नगरपालिकामा नियमविपरीत क्रसर उद्योग स्थापना गर्न लागिएको भेटिएको छ। बेदकोट नगरपालिका–९ सुन्दरपुरमा उदयदेव अनमोल क्रसर उद्योग नाम दिएर त्यस क्षेत्रका धनाढ्यहरूले नियमविपरीत क्रसर उद्योग स्थापना गर्न लागिएको भेटिएको हो।

मानव स्वास्थ्य र वातावरणमा पर्ने असरको कुनै मूल्याङ्कन नै नगरी गाउँको बीचैमा क्रसर उद्योग निर्माणको काम धमाधम चलिरहेको छ। गाउँको स्वच्छ वातावरणमा पर्ने प्रतिकूल असरमा ध्यानै नदिई एकलौटी तरिकाले गाउँको सौन्दर्य कुरूप बनाउने कु–चेष्टा गरिएको छ। नारद पाण्डेय, तेजबहादुर चन्द र खिमानन्द अवस्थीलगायतले सञ्चालन गर्न लागेको क्रसर उद्योग मापदण्डविपरीत घना मानवबस्तीको बीचमा कृषियोग्य जमीनलाई तहसनहस पार्ने किसिमले निर्माण भइरहेको हो।

उद्योग स्थापना हुनुपूर्व वातावरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने भए पनि प्रभाव मूल्याङ्कन नै नगरी एकलौटी तरिकाले मानव अस्तित्व नै सखाप पार्ने तवरले क्रसर निर्माण भइरहेको छ।

क्रसर उद्योग स्थापना हुनुभन्दा अगाडि वातावरण प्रभाव मूल्याङ्कन मापदण्डअनुसार खोलाकिनार र राजमार्गबाट ५०० मिटर, घनाबस्ती, धार्मिक पुराताŒिवक महŒवको स्थान, शिक्षण संस्था, सुरक्षा निकायबाट २ किलोमिटरको दूरीमा हुनुपर्ने हुन्छ।

तर उद्योग निर्माणस्थलनजिकै घना मानवबस्ती, सरकारी कार्यालय, स्कुल तथा क्याम्पस रहेका छन्। संघर्ष समितिका सचिव रुद्रराज भट्टका अनुसार उद्योग निर्माणस्थलनजिक ८ सय ५० परिवारको घनाबस्तीका साथै उदयदेव माध्यमिक विद्यालयसहित अन्य निजी लगानीमा सञ्चालित विद्यालय रहेका छन् भने करिब ५ मिटरको दुरीमा सोताह नदी पनि रहेको छ।

उद्योग स्थापनाका लागि विभिन्न पर्लोभन देखाइ स्थानीयहरूलाई हस्ताक्षर गरेर सहमतिमा ल्याइएको पाइएको छ। संघर्ष समितिकी कोषध्यक्ष पार्वती भट्ट ९जोशी०ले थ्रेसर ल्याउछौँ भनेर स्थानीय सोझा–साझा नपढेकालाई जालसाजी गरी हस्ताक्षर गराएको आरोप लगाइन्। उद्योग निर्माणको प्रक्रिया पास गर्दा निर्माणस्थलवरपर कुनै घना मानवीयबस्ती नभइ ३ परिवार मात्र बसोबास गर्ने गरेको भनी उद्योग पक्षले गरेको संघर्ष समितिका सचिव रुद्रराज भट्टले बताए।

चुनावमा अवैध तरिकाले प्रक्रिया मिचेर निर्माण भइरहेको क्रसर उद्योग बन्द गर्ने प्रतिवद्धता जनाएका बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले पनि उक्त विषयमा कुनै वास्ता नै नगर्ने गरेको स्थानीयबासीको आरोप रहेको छ। चुनावको बेला मेयर चन्दले जनाएको प्रतिवद्धता पूरा नगरेको भन्दै संघर्ष समितिका सचिव रुद्रराज भट्टले यस विषयमा बेलाबेलामा जानकारी गराउँदा पनि कुनै तदारुकता नै नदेखाउने गरेको बताए।

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगको दर्ता भएको प्रमाणपत्रमा उल्लेखित ६ महिने निर्माण अवधि सकिएको छ। तर हाल पनि उद्योगको निर्माण कार्य जारी रहेको छ।
मापदण्ड पुरा नगरी अवैध तरिकाले निर्माण भइरहेको क्रसर उद्योग विरुद्ध त्यहाँका स्थानीयहरू संघर्ष समिति गठन गरेर विरोधमा उत्रेका छन्। गत माघ १३ गते गठन भएको संघर्ष समितिले अवैध उद्योग विरुद्ध आफ्ना सर्घषका कार्यक्रम सार्वजनिक गरेको छ।
मापदण्डविपरीत घना मानवबस्तीको बीचमा कृषियोग्य जमिनलाई तहसनहस पार्ने किसिमले निर्माण भइरहेको उद्योग निर्माण कार्य रोक्नुपर्ने माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो।