डा. केसीप्रति सरकारका प्रवक्ताको जवाफः अनसनको औचित्य सकियो, सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी हुन्छ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिकित्सक गोविन्द केसीको अनसनको औचित्य समाप्त भएको बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले १५ औँ अनसनमा भएको सहमति कानुनीकृत भई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेकाले केसीले माग पूरा भएको खुसीयाली मनाउन आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष ग्रीक मिथ सिसिफसको पात्रजस्तो भएको उनले बताए । उनले प्रमुख प्रतिपक्षीले जुन माग राखेर सदन अवरुद्ध गरिरहेको छ, ती माग पूरा भइसकेकाले सिसिफसको पात्रजस्तो नहुन आग्रह गरे । त्यस्तै, उनले आफू प्रधानमन्त्री हुँदा चिकित्सक केसीको माग पूरा गर्न कुनै तत्परता नदेखाउने तर प्रतिपक्षमा भएको बेलामा बोकेर हिँड्नुको अर्थ नरहेको बताए ।

प्रमुख प्रतिपक्षीको आन्दोलन र सदन अवरुद्धलाई बास्कोटाले सत्ता गुमेको कुण्ठा र छटपटाहट भएको टिप्पणी गरे ।कांग्रेस सांसद मिनेन्द्र रिजालको नाम नलिई संसदमा जुहारीसँग गीत पनि सुनेको भन्दै उनले भने, अर्को एउटा पनि गीत छ, सालको पात मात्र टपरी हुन्छ, सल्लाको हुँदैन ।

चर्चित प्रकरण सकियो । सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी हुन्छ ।’ उनले एउटै विषयलाई बारम्बार जोडेर अधिनायकवादी भन्नुको तुक नरहेको पनि बताए ।