विवादै विवादबीच राष्ट्रियसभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ ।केही दिन अघि प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो ।

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

संशोधन प्रस्तावमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गराउन ढिला भइसकेको भन्दै थप छलफल गर्न समय नभएको बताए ।