कांग्रेसले गर्याे संसद् अवरोध, अर्को बैठक आइतबार

0
Shares

गंगा बराल, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध भयो ।
गत शुक्रबार प्रतिनिधिसभाबाट पारित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ जवरजस्ती रुपमा पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद्हरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्रप्रसाद रिजाललाई समय दिनुभएको थियो । रिजालले पारित भएको चिकित्सा विधेयकले चिकित्सा क्षेत्रमा सुधार गर्न नसक्ने र अनशनरत डा. गोबिन्द केसीको जिवनरक्षा नहुने भन्दै संसद्को काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।

सभामुख महराले पटकपटक सांसदलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन् । रिजालले आफूहरुको आन्दोलनका कारण कांग्रेस नेताका नाममा रहेका २ वटा अस्पताल संघ मातहतमामा राख्ने सरकारको निर्णय सकारात्मक भएको बताउनुभयो । उहाँले चिकित्सा विधेयक पारित गरेर सरकारले नाटक गरेको बताउनुभयो । सत्ताको अहंकारले सरकार कमजोर भएको र जनताको आवश्यकता र चाहनामाथि खेलबाड गरेको बताउनुभयो । आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखको क्रियाकलाप हेरेर संसदमा के गर्ने भन्ने निर्णय त्यसपछि नै गर्ने जनाएको थियो ।

कांग्रेस सांसदको अवरोध जारी भएपछि कार्यसूचीमा नै प्रवेश गरेन । संसद्को अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्ने छ । राष्ट्रियसभाको बैठक आजै २ बजे बस्दैछ ।