मध्यपहाडी राजमार्गको दैलेख खण्डमा विवाद कायमै

0
Shares

स्थानीय भन्छन् ‘१० मिटर चौडा बाटो दिन तयार छौ’
हिक्मत नेपाली, दैलेख ।
राष्ट्रिय गौरबको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग प्रभावित क्षेत्रका स्थानीयले १० मिटर क्षेत्रफलको बाटो दिन तयार भएको बताएका छन् । राजमार्ग अन्तरगर्त दैलेख खण्डको नारायण नगरपालिकाको २५ किलोमिटर क्षेत्रभित्रका जग्गाधनीले राजमार्गलाई १० मिटर चौडाबाटो दिन तयार रहेको बताएका हुन् । सडक कताबाट जाने र कति जमिन ओगट्छ भन्ने यकिन नभएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका प्रभावित क्षेत्रका स्थानीयले यस्तो बताएका हुन् ।

राजमार्ग बारेमा अझै अन्यौलमा परेका बताउँदै प्रभावित क्षेत्रका स्थानीय यामराज थापाले सरकारले आफुहरुलाई जग्गाको सट्टा जग्गा दिनुपर्ने बताउनुभयो । आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुष्पलाल (मध्यपहाडी) राजमार्ग संघर्ष समिति यस अघिनै गठन गरि विभिन्न मागहरु राख्दै आएका छन् । संघर्ष समितिले बुधवार राजमार्ग योजना कार्यालय दैलेखमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ ‘दैलेख नारायण नगरपालिका आसपासमा पर्ने जग्गा धनीसँग कुनै पनि सल्लाह नलिई जिल्लाका राजनीतिक दलका प्रमुखहरुले पहुँचका आधारमा सडक विस्तार गर्न सुरु गर्दा देखि नै विवाद हुँदै आएको छ ।’

राजमार्ग अन्तरगर्त नारायण नगरपालिकाकाको झण्डै २५ किलोमिटर क्षेत्रका जग्गा धनीको विरोध हुँदा हुँदै ट्रयाक खोली सडक विस्तारको काम अघि बढाइएको पत्रमा उल्लेख छ । प्रभावित क्षेत्रका स्थानीयले आफुहरु राजमार्ग विरोधी नभएको समेत उल्लेख गरेका छन् । सडक ऐन अनुसारको राजमार्गको मापदण्ड अनुसारको जग्गा दिन तयार रहेको पत्रमा उल्लेख छ ।

राजमार्गको सडक १० मिटर मात्रै हो भनी आफुहरुलाई झुक्याएको बताउँदै थापाले १० मिटर बाटो बनाउन पहल गर्ने भनि राजनीतिक दलका प्रमुखहरुले पटक–पटक निणर्य गरेको भएपनि हाल सम्म राजपत्रमा प्रकाशित नगरिनु प्रभावित क्षेत्रका बासिन्दालाई झुक्याउने काम भइरहेको बताउनुभयो । राजमार्गको विवाद बारे राज्यका जिम्मेवार निकायहरुले पहल नगरेको बताउँदै उहाँले भन्नुभयो ‘१० मिटर क्षेत्रफलको चौडाबाटो दिन तयार छौ तर सो भन्दा बढि क्षेत्रफलको चौडाबाटो दिदैनौ ।’ आयोजनाले जर्बजस्ती गर्न खोजे आफुहरु जस्तो सुकै कदम चाल्न बाध्य हुने प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

संघर्ष समितिले यस अघि नै सरकार, राजनीतिक दलका प्रमुख र आयोजनालाई राजमार्ग निर्माणका लागि विभिन्न सुझावहरु दिएका थिए । राजमार्गको सडक सिमाङ्गनमा २५ मिटर दायाँ–बाँया छोड्नुपर्ने व्यवस्था पहाडी जिल्लाका कतिपय स्थानमा सम्भव नै नदेखिएकोले स्थान विशेषका आधारमा परिमार्जन गर्नुपर्ने लगाएतका सुझाव आफुहरुले दिएको थापाको भनाई छ । उहाँले सुझावहरु आयोजना र जिल्लाका राजनीतिक दलका प्रमुखहरुलाई बुझाएपनि वेवास्ता गरेको आरोप लगाउनुभयो । आयोजनको कार्यालय दाङमा रहँदा समेत संघर्ष समितिले राजमार्गको सडकको चौडा १० मिटर कायम गर्न माग राख्दै दाङ पुगेर माग पत्र पेश गरेका थिए ।

प्रभावित क्षेत्रका बासिन्दाको माग अनुसार नै तत्कालिन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बैठक बसेर राजमार्गको सडक १० मिटर मात्रै कायम गर्न र सो भन्दा बढि जग्गा प्रयोग गर्नुपरेमा प्रचलित मुल्य अनुसारको क्षतीपूर्ती उपलब्ध गराउन सरकार समक्ष पहल गर्ने निणर्य समेत गरिएको थियो । यस्तै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले २०७३ कात्तिकमा बाटो रोक्का गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरेका थिए ।

२०७२ असारमा तत्कालिन प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको बैठकले आयोजनाले भविष्यमा ९ मिटर भन्दा बढि चौडा सडक निर्माण गर्ने भएमा सम्बन्धित जग्गा धनीलाई कानुन बमोजिम प्रचलित मुल्य अनुसार क्षतीपूर्ती उपलब्ध गराइएसमेपछि मात्र सडक विस्तारको काम अघि बढाउने निणर्य भएको थियो । पटक पटक गरिएका निणर्यहरु कार्यान्वयन हुन नसकेको पभावित क्षेत्रका बासिन्दाको आरोप छ ।

राजमार्ग अन्तरगर्त दैलेख खण्डको अन्य स्थानमा विवाद नभएपनि नारायण नगरपालिका क्षेत्रमा सुरु देखि नै विवाद कायमै छ । राजमार्ग कुन ठाउँबाट जाने भन्नेबारे अझै पनि टुंगो लाग्न सकेको छैन भने विवाद अहिले सम्म समाधान भएको छैन् । राजमार्गको दैलेख खण्डको अन्य स्थानमा सडक कालोपत्रेको काम भइरहेको छ । राजमार्गले दैलेख खण्डको भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिका र आठबीस नगरपालिका हुँदै अछाम प्रवेश गर्नेछ ।