चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट आजै पारित गर्ने तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आज बिहीबार पारित गर्ने तयारी थालिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी गरेको हो ।

दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फर्छ्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।

सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकबारेको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद नै गत शुक्रबार प्रतिनिधि सभाबाट एक्त विधेयक पारित भएर राष्ट्रियसभामा आएको हो । सदनलाई सुचारु गर्ने विषयमा राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।