“ठुला भू–माफिया बचाउन ठुलो चलखेल भइरहेको संकेत”
मनोज भट्ट, महेन्द्रनगर ।
महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध लिजमा बनेका संरचना भत्काउन मंगलवार डोजर चलेको हो । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना ईकाइ कार्यालयले अवैध लिजमा बनेका महेन्द्रनगरका निर्माणधिन संरचनामा मंगलवार डोजर चलाएको हो । तर अवैध संरचना भत्काउन खोजीएको नभएर, मात्रै जिस्काउन खोजिएको जस्तो देखिएको छ । मंगलवार साझ छोटो समयका लागि डोजर चेलेको थियो । डोजर चलेको ५ मिनेटमै उक्त स्थलबाट भाग्नुपर्ने स्थिती किन सिर्जना भयो भन्ने प्रश्न खडा भएको छ । यो कस्तो नियत ? कस्तो कायरता सबैको प्रश्न रहेको छ ।
अवैध संरचनाको लगत संकलन कार्य गरिरहेको संघीय आयोजना ईकाइले यसअघि सूचना जारी गर्दै आफ्ना सर–समान उठाई लैजान सूचित गरेको थियो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको एक महिने आदेशको म्याद सकिएपनि संरचना हटाउने कुनै सुरसार नै नदेखाएपछि शहरी विकास मन्त्रालयले लगत संकलन तथा नम्बरिङ्ग कार्य सुरु गरेको छ ।उता भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले संकेत स्वरुप सचेत गराउन डोजर चलाइएको बताएका छन् ।

भवन भत्काउन जिल्ला प्रशासन कार्यालयले आफ्नो घर आफै भत्काउन दिएको एक महिने अल्टिमेटम सकिएको छ । तर त्यसविरुद्ध खोका छाप्राबासीले उच्च अदालतमा अपील गरेपछि अदालतले जिल्ला प्रशासन कार्यालयलगायतका निकायलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको थियो । सो आदेशको पालना नगरी एक्कासी घरहरु भत्काइएको भन्दै स्थानीय आक्रोसित भएका छन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरराज विष्टले अदालतबाट कारण देखाउ आदेश जारी भएपनि घर नभत्काउन कुनै आदेश नआएको बताए । उनले भने, ‘खोकाछाप्रावाल अन्तरिम आदेश पाउँ भनि अदालत गएका हुन् । तर अदालतले अन्तरिम आदेश दिएको छैन ।
त्यसकारण अदालतको आदेश उल्लंघन हुँदैन।’जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले आज नै भत्काउने कुनै निर्णय नभएको जनाए । उनले भने, ‘अहिले नै भत्काउने भन्ने कुनै निर्णय भएको छैन, हामीलाई सुरक्षा माग भयो, सुरक्षाकर्मी खटाएका हौँ ।’महेन्द्रनगरको होटल ओपेरा पछाडि रहेको नगर विकास समितिको जमीनमा निर्माणधिन संरचना भत्काउन डोजर चलाएको थियो ।
आन्दोलनकारी र डोजरमाथी ढुङगामुढा
खोकाछाप्रा व्यवसायीहरुको निर्माणाधीन भवनमा मंगलवार साझ डोजर चलाइएपछि महेन्द्रनगर तनावग्रस्त भएको थियो । विभिन्न राजनितिक दलका भातृ संगठन तथा विद्यार्थीको मंगलवारको आमहड्तालपछि डोजर चलेको भन्दै खोकाछाप्रा व्यवसायीहरुले प्रतिकार स्वरुप ढुङगामुढा प्रहार गरेका हुन् । संरचना भत्काउँदा युवा तथा विद्यार्थीहरु हेर्नको लागि आएको भन्दै आक्रोसित भएका खोकाछाप्रा व्यवसायीहरुले उनीहरुमाथि ढुङगा मुढा गरेका थिए ।
नेपाली नागरिकता त्याग्छौँः संरचना निमार्णवाला
आफूहरुलाई खबर नै नगरी एक्कासी भवन भत्काएको भन्दै खोकाछाप्रा व्यवसायी आक्रोसित भएका छन् । आफूहरुलाई जानकारी नै नगरी भवन भत्काउन थालेकोले कहाँ जाने भन्दै उनीहरु आक्रोसित भएका छन् । ‘भवन बनाउँदा नै रोक्नु पर्ने भएपनि अब भवन बनाउँदा लागेको खर्च कस्ले व्यहोर्ने ?’ एक जना खोकाछाप्रा व्यवसायी निर्मला साउँदले प्रश्न गरिन् । सरकारले आफूहरुलाई नेपाली नागरिकको जस्तो व्यवहार नगरेको भन्दै आफ्नो नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाउने खोकाछाप्रा व्यवसायी डम्बर सिह भाटले बताए ।
खोकाछाप्रा व्यवसायीहरुको उचित व्यवस्थापनको कुनै सुरसार नै नगरी भवनहरु भत्काउन थालेपछि आफूहरुको बिचल्ली भएको उनीहरुको गुनासो छ । उनीहरुले सत्य, तथ्य छानबिन गरी खोकाछाप्रा व्यवसायीको नाममा बसेका भू–माफियालाई कारबाही गर्नु पर्ने माग गरेका छन् ।
महेन्द्रनगरको पुरानो बसपार्कमा नगरविकास समितिले नै दिएको जमिनमा खोकाछाप्रा बनाएर २०४९ सालदेखि बस्दै र नगरविकासलाई भाडा तिर्दै आएका खोकाछाप्रावालालाई राजनीतिक दलहरुले व्यवस्थित गर्ने आश्वासन दिँदै आएपनि अहिले एक्कासी डोजर चलाउँदा दुःख लागेको स्थानीय धनसिंह धामीले बताए । उनले खोकाछाप्राका नाममा अवैध लिजमा जमिन लिएर खरिदबिक्री गर्ने ठुला व्यापारी र दलका नेताहरुको संरचना जोगाउन खोकाछाप्रामा ‘तार्गेट’ गरिएको दाबी गरे । खोकाछाप्रामा एक्कासी डोजर चल्न थालेपछि स–साना बालबालिका तथा वृद्धवृद्धा आतंकित बनेका थिए ।
ठुला भू–माफिया बचाउन प्रशासनको कायरताः आन्दोलित पक्ष
भवन भत्काउँदा एकतर्फी भएर नम्बरिङ गरिए अनुसार भत्काउनुको सट्टा प्रक्रिया मिचेर भत्काएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् । धनि व्यापारीको भवन बचाउने उद्धेश्यले छानेर डोजर चलाएको स्थानीयको आरोप छ । यस्तै जिल्लाका युवा तथा विद्यार्थी संगठनले पनि गलत तरिकाले डोजर चलाएको भन्दै आपत्ती जनाएका छन् ।
अवैध लिज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका जिल्लामा क्रियाशिल विभिन्न राजनितिक दलका भातृ संगठन तथा विद्यार्थीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै ठुला–ठुला भू–माफियाहरु माथि कारबाही नगरी कायरता पूूर्ण व्यवहार देखाएको आरोप लगाइएको छ ।
जिल्लाका विभिन्न १० संगठनहरुका प्रतिनिधिको हस्ताक्षर रहेको विज्ञप्तीमा सरकारले अझै पनि आफूहरुको मागमा उदासिनता देखाएकोले ध्यानाकर्षण भएको जनाइएको छ ।
दोस्रो दिन पनि आमहड्ताल जारी
मंगलवार देखि विद्यार्थी युवाको सयुक्त संघर्ष समितिले घोषणा गरेको आम हड्ताल बुधवार पनि जारी रहेको छ । अनिश्चिकालिन आमहड्तालले जनजीवन प्रभावित भएको छ । अनिश्चितकालिन बन्दको प्रभाव जिल्लाका सम्पुर्ण सरकारी कार्यालयहरु, बजार व्यवसाय, यातायात, शैक्षिक संस्थाहरु, उद्योग, कलकारखानामा परेको छ ।
जिल्ला सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि ठप्प रहेको छ । बन्दले गर्दा बजारमा रहेका कुनै पनि पसल खुलेका छैनन् । जसले गर्दा बजार क्षेत्रमा मानिसको चहलपहल घटेको छ । अवैध संरचना भत्काउन सुरु नगरुन्जेल सम्म आन्दोलबाट पछि नहट्ने युवा तथा विद्यार्थीहरुको दाबि छ ।











प्रतिक्रिया