३३ किलो सुन प्रकरण: श्रेष्ठविरुद्ध १४ करोड बढी अकूत मुद्दा दायर

0
Shares

काठमाडौं, (नेस)
३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर भएको छ।

उनी सेवामा रहँदा १४ करोड रुपियाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सुन तस्करी प्रकरणमा मुछिएपछि उनी २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत परेका थिए। उनी सार्वजनिक सेवा प्रवेश गरेपश्चातको समग्र आयव्ययको विश्लेषण गर्दा उनको सम्पत्ति कतैबाट पनि मेल खाएको नदेखिएपछि मुद्दा दायर गरेको आयोगले दाबी गरेको छ।

१४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी पु¥याएको भन्दै आयोगले सोही मूल्यबराबर विगो जरिवाना भर्न मागसमेत गरेको छ। उनको वैधानिक आय जम्मा ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रुपियाँ मात्र देखिएको आयोगले जनाएको छ। २०५३ सालमा सरकारी सेवा प्रवेश गरेपछिको उनको सम्पत्ति अनुसन्धान र विश्लेषण गरी आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएको हो।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा २० बमोजिम २ वर्षसम्म कैद र १४ करोड नै जरिवाना तिराउनुपर्ने आयोगले माग गरेको छ।
आयोगले उनी, उनका परिवार र आफन्तबाट १४ करोड ६१ लाख रूपियाँबराबरको सम्पत्ति जफत गर्न समेत भनेको छ। यसरी बिगो जफत गरेपछि त्यति नै जरिवाना पनि तिराउनुपर्ने आयोगको माग छ।

उनले अवैध कमाएको सम्पत्ति उनका बुवाआमा, दुवैजना श्रीमती, भाइ र भाइबुहारीले समेत चलाएकाले सो रकम जफत गर्न आयोगले उनीहरूलाई समेत प्रतिवादी बनाएको छ।