बाह्य हस्तक्षेपबिना भेनेजुएलाको संकट समाधान: सरकार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सरकारले भेनेजुएलामा देखिएको राजनीतिक संकटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत सरकारले त्यहाँको संकट समाधान बा≈य हस्तक्षेपबिना हुनुपर्ने निष्कर्ष निकालेको छ। सो मुलुकको राजनीतिक समस्या त्यहाँको संवैधानिक प्रावधानअनुसार प्रजातान्त्रिक माध्यमबाट हुनुपर्ने सरकारको सुझाव छ।

अमेरिकाले भेनेजुएलाको विषयमा सरकारको आधिकारिक धारणा मागेको सन्दर्भमा मन्त्रालयले यस्तो भनाइ बाहिर ल्याएको हो। अमेरिकाले भेनेजुएलामाथि गरेको हस्तक्षेपको निन्दा गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो।
भेनेजुएलाका विपक्षी नेता जुआन गुआइडोले गत बुधबार आफूलाई कार्यवाहक राष्ट्रपतिका रूपमा स्वघोषणा गरेपछि त्यहाँ आन्तरिक राजनीतिक संकट चुलिएको छ।

गुआइडोको घोषणालगत्तै अमेरिकाले उनलाई कार्यवाहक राष्ट्रपतिको मान्यता दिएपछि त्यसले अन्तर्राष्ट्रिय चर्चा निकै बटुलेको छ। अमेरिकाले गुआइडोको समर्थन गरेलगत्तै विभिन्न मुलुकले आलोचना गरिरहँदा प्रचण्डले पनि अमेरिकी कदमको विरोध जनाउँदै प्रजातान्त्रिक निर्वाचनबाट निर्वाचित राष्ट्रपति निकोल माडुरोलाई मान्यता दिनुपर्ने भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो।

भेनेजुएलामा भएको राजनीतिक घटनाक्रमलाई सरकारले नजिकबाट निहालिरहेको जनाउँदै परराष्ट्रले विज्ञप्तीमा भनेको छ– ‘देशको राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुएलाका नागरिकसँगै छ।’