हृदयाघात पश्चात् पूर्व युवराज पारस शाहको नर्भिकमा उपचार जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्व युवराज पारस विक्रम शाहलाई सोमबार अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । थोरै समय नर्भिकको अन्तर्राष्टिय आकस्मिक कक्षमा राखी जाँचपश्चात् उहाँलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई सी.सी.यु.मा सारिएको अस्पतालले जनाएकोछ ।

उहाँको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । उहाँको स्वास्थ्य हाल स्थिर रहेतापनि उहाँ काे स्वास्थ्य स्थिती भने अझै खतरामुक्त भएको छैन । उहाँ केही दिन हस्पिटलमै रहनुहुने छ ।

मंगलबार बिहानको चिकित्सकको राउण्डमा उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।