टोपी थापेर देश चलाउनु पर्ने दुर्भाग्य अझै छ–मन्त्री विश्वकर्मा

0
Shares

प्ुष्करराज बुढाथोकी, भक्तपुर । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले देश अझै पनि टोपी थापेर चलाउनु पर्ने दुर्भाग्यपूर्ण अबस्थामा रहेको बताउनु भएको छ ।

नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघले आज भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा आयोजना गरेको नेपाल सुनचाँदी हस्तकला क्षेत्रमा युवा व्यवसायी कालीगढहरुको वर्तमान अबस्था र सीपको स्तरीकरणमा सरोकारवाला निकायको भूमिका विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै टोपी थाप्ने प्रबृत्तिको अन्त्य गर्न आत्मनिर्भर आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले युगौदेखि बाहुन क्षत्रीको हातमा शासन सत्ता रहदै आएकाले दलित एवं हातमा सीप र दक्षता रहेका कालीगढहरु सधै पछाडि परेको बताउदै त्यो प्रबृत्ति अझै पनि जिउँदो रहेको बताउनुभयो । मन्त्री विश्वकर्माले कला, सीप, श्रम र उत्पादनसंग देशभरका युवालाई सहभागी गराउने कार्ययोजना सहित सरकार अगाडि बढेको बताउदै उहाँले कला, सीप र कालिगढको सम्मान एवं मूल्यांकन गर्न नसक्दा आर्थिक समृद्धिमा देश पछाडि परेको उहाँको भनाई थियो ।

श्रम र सीपलाई उत्पादनसंग कसरी जोड्न सकिन्छ भन्नेमा देशलाई सकस परेको चर्चा गर्दै मन्त्री विश्वकर्माले कालिगढ, पेशा र जातको उपेक्षा गर्ने र देशमा चल्दै आएको विभेदको अन्त्य अत्यावश्यक रहेको औल्याउनुभयो ।

त्यसअवसरमा प्रतिनिधीसभा सांसद आशाकुमारी विश्वकर्माले कालिगढहरुको क्षमता र सीपलाई राज्यले आर्थिक उपार्जनमा प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्राबिधिक शिक्षा तथा व्यबसायीक तालिम परिषर (सीटीईभीटी) का निर्देशक टेकबहादुर मल्लले सुनचाँदी हस्तकलाको तालिमका लागि पाठ्यक्रम तयार भईरहेको बताउदै हातमा सीप भएका तर औपचारिक शिक्षा हासिल नगरेकाहरुलाई पनि अब सीप प्रमाणिकरण गरि सिकाईको स्तरीकरण सहित प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।