निरन्तरको हिमपात पछि कालिञ्चोकमा पानीको चरम अभाव

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको उच्च हिमाली तथा पहाडी भेगमा केहि दिन देखि निरन्तर हिमपात भै रहेको छ । मंगलवार र बुधवार भारी हिमपात भएको कालिञ्चोकमा विहिवार मौसम सफा रहेको थियो । शुक्रवार बेलुका देखि पुनः हिमपात सुरु भएपछि कालिञ्चोकमा यातायात पुग्न नसक्दा पर्यटकहरु समस्यामा परेका छन् ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । हिमपातका कारण कालिञ्चोक मन्दिर भन्दा आठ किलोमीटर तलबाटै यातायात अवरुद्ध भएपछि पर्यटकहरु दुई घण्टा हिडेर कालिञ्चोक मन्दिर पुग्नुपर्ने बाध्यता रहेको र पानी तथा खानेकुराको समेत समस्या हुने अवस्था बनेको कालिञ्चोकको कुरीमा रहेको सुनपाती होटलका प्रोपाईटर हरि ओली बताउछन् ।

केहि दिनदेखि लगातार हिमपात भएपछि कुरी तथा कालिञ्चोक मन्दिर आसपास दुईफिट भन्दा बढी हिउँ जमेको छ । हिमपात निरन्तर भै रह्यो र बाटो खुलाउन सकिएन भने एक दुई दिनमै होटल बन्द गरेर चरिकोट झर्नुपर्ने अवस्था रहने ओली बताउछन् ।

लगातारको हिमपातले कालिञ्चोकमा सबै भन्दा ठूलो समस्या पानीको भएको स्थानिय होटल व्यवसायी सोनाम शेर्पाको भनाई छ । अहिले पनि निरन्तर हिमपात भै रहेको छ, यातायात सुचारु हुन सकेन भने कालिञ्चोकका सबै होटलहरु बन्द गर्नु पर्ने अवस्था हुन्छ – शेर्पाले भने । कालिञ्चोकमा अत्यधिक पर्यटक रहेकोले पानी र खानेकुराको व्यवस्थानको लागि पहल हुनुपर्ने शेर्पा बताउछन् ।

दोलखाको शैलुङमा पनि शुक्रवार बेलुकाबाट निरन्तर हिमपात सुरु भएपछि पर्यटकहरुको आगमन बढेको शैलुङ गाँउपालिका प्रमुख भरत दुलाल बताउछन् । धार्मिक एवं पर्यटकीय केन्द्र शैलुङमा निरन्तर हिमपात भएपछि पर्यटन व्यवस्थापन चुनौती बनेको र त्यसको लागि गाँउपालिकाले विशेष योजना साथ काम गरिरहेको शैलुङ गाँउपालिकाका प्रमुख दुलाल बताउछन् ।

निरन्तरको हिमपात पछि दोलखाको खरीढुङ्गा र सिन्धुपाल्चोकको सिमाना मूडेमा समेत पर्यटकको चाँप बढेको छ । हिमपातको कारण केहि समय बाटो अवरुद्ध भएपनि अहिले भने यातायात सञ्चालन भै रहेको स्थानिय प्रशासनले जनाएको छ । कालिञ्चोकमा यातायात सुचारु गरी पानी तथा खाद्यान्न आपूर्ति सहज बनाउन पहल भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

तस्विरः हिउँले ढाकिएको कालिञ्चोक कुरी र हिउँमा रमाउदै पर्यटकहरु