दशगजामा भारतले खनेको नालीको विवाद

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको पुनर्वासको डोकेबजार स्थित पिलर नम्बर ७५३ र १७१ दशगजा नजिक नेपाली पक्षसँग सहमती बिनै भारतीय वन बिभागले वन्यजन्तुको आवागमन थुनिने गरि नाली खनेको बिषयमा नेपाल–भारतका अधिकारी बिच शुक्रबार गरिएको वार्तामा दोस्रो बैठकबाट समस्या समाधान गरिने निश्कर्ष निकालिएको छ ।

भारतीय वन बिभागका कर्मचारीहरुले नेपाली प्रशासनसँग छलफल र सहमति बिनै दशगजा नजिकै डोजर चलाएर गहिरो नाली, डिल र तारबारको पोल गाड्न थालेपछि स्थानीय स्तरबाट तिब्र बिरोध सुरुभएपछि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट सुरक्षा निकायका प्रमुख सहित बिवादित उक्त क्षेत्रमा पुगेका थिए । उनीसँगै सीमा सुरक्षा बल सशस्त्र प्रहरीका एसपी बिनोदराज श्रेष्ठ ,नेपाल प्रहरीका एसपी कुबेर कडायत र जिल्ला वन कार्यालयका डिएफओ मोहनराज काफ्ले उक्त क्षेत्रको अबलोकनमा पुगेका थिए ।

पुनर्वासको डोकेबजार स्थित पिलर नम्बर ७५३ र १७१ को दशगजा नजिकै भारतीय पक्षबाट खनिएको नालीको समेत कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिष्टको टोलिले स्थलगत निरीक्षण गरेको थियो । दशगजाको नजिकै पोल गाड्दै नाली खन्ने र डिल बनाउने बारे भारतीय पक्षले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सँग कुनै जानकारी नै नदिएको एकाएक बनाए पछि जानकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए । उनले भने ‘दशगजा नजिक खनिएको बारे जानकारी पाए पछि हामीले अब काम अगाडी नबढाउन भनेउ र काम स्थगित भएको छ ।’

भारतीय पक्षसँग वार्ता र उक्त क्षेत्रको स्थलगत अबलोकनमा डोके बजार पुगेका जिल्ला वन कार्यालय कञ्चनपुरका डिएफओ काफ्लेले भने ‘मोहना क्यारिडोर को प्रवेश मार्गका रुपमा रहेको यो क्षेत्रमा वन्यजन्तुको सहज आवागमन थुनिने गरि संरचना बनाउन नमिल्ने ।’ उनले भने ‘दोस्रो कुरा बनाउनै पर्ने भए सहमति लिनु पर्ने हो । उक्त क्षेत्रको स्थलगत निरीक्षण पश्चात सहायक प्रमुख जिल्ला अधिकारीको टोलिले गौरीफन्टामा भारतीय सुरक्षा अधिकारी र वन बिभागको टोलिसँग वार्ता गरेको थियो ।’

भारतीय पक्षबाट एसएसबीका इन्सपेक्टर अभय यादव, गौरीफन्टाका कोतवाल उमेशप्रशाद यादव, वन बिभागका फरेस्टर द्वय शन्तकुमार त्रिपाठी र मनोजकुमार मौर्य वार्तामा सहभागी रहेका थिए । सीमा पारी हुने वन्यजन्तुको चोरी सिकारी र फोहर दुधुवा निकुन्जमा आउन रोक्न नाली ,डील र तारबार बनाउन खोजिएको भारतीय पक्षले जनाएको छ ।