म्याग्दीमा भारी हिमपात, जनजीवन कष्टकर (तस्विरसहित)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
माघ १२ – उच्च पहाडी जिल्ला म्याग्दीमा शुक्रबार साँझदेखि परेको वर्षाका कारण भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रसहित तल्लो क्षेत्रको अधिकांश ठाउँहरुमा हिउँ परेको हो ।

समुन्द्री सतहदेखि १ हजार ५ सय मिटरको उचाइमा रहेका वस्तीहरुसम्मै हिउँ परेको छ । हिमपातपछि अहिले म्याग्दीका डाँडाकाँडाहरु सेताम्मे देखिएका छन् । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाका ७ ओटै वडामा बाक्लो हिमपात भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

यसैगरी बेनी नगरपालिकाको १, २, ३, ५, ९ र १० नम्बर वडाका वस्तीहरुमा हिमपात भएको छ । मालिका गाउँपालिकाको पनि सातवटै वडाका वस्तीहरुमा हिमपात भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका वस्तीहरुमा पनि भारी हिमपात भएको छ । अधिकांश गाउँको घर, आँगन र छानाहरु ढाकिने गरी हिमपात भएको छ ।

लेकाली वस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ । बिहान उठ्नेबित्तिकै घरको आँगनमै सेताम्मे हिउँ देखेपछि आफूहरु हिउँ खेलेर रमाएको बेनी नगरपालिका–५, डडुवाका अर्जुन भण्डारीले टेलिफोनमा जानकारी दिनुभयो । लामो समयपछि जिल्लाको मध्ये वस्तीमा हिउँ परेपछि स्थानीयवासिन्दा खुसी भएका छन् । म्याग्दीको उच्च भेगहरुमा २ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो वस्तीका अधिकांश ठाउँहरुमा झण्डै आधा फिटसम्म हिउँ जमेको आँकलन गरिएको छ ।

गाउँवस्ती नै छोपिने गरीको परेको हिमपातका कारणले गर्दा वस्ती अनौठो देखिएको छ । जिल्लाको पर्यटकीय क्षेत्र घोरेपानी, पुनहिल, महरेडाँडा, टोड्के, रुईसे–भेडिओढार, गुफाको डाँडो, भकिम्लीको स्वर्गाश्रम, बराङ्जाको झाँक्रीपानी लगायतका क्षेत्रहरु अहिले सेताम्य हिउँको ढिस्कोमा रुपान्तरण भएका छन् । पर्यटकीय क्षेत्रमा पुगेका आन्तरिक तथा बाहय पर्यटकहरु हिउँ खेलेर रमाइरहेका छन् ।

हिमपातका कारण स्थानीयवासिन्दालाई भने घरको दैनिक काम गर्न समस्या भएको छ । हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर आवतजावत गर्न समस्या भएको बेनपा–५, गाजनेका यामबहादुर बानियाले बताउनुभयो । हिमपातले मल भिजेर बिरुवालाई फाइदा गर्ने र उत्पादन बढ्ने भएपछि कृषकहरु खुसी भएका छन् ।