मुस्ताङमा लगातार हिमपातः यातायात र विद्युत सेवा अवरुद्ध, हवाई उडान बन्द (फोटोफिचर)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

शुक्रबार साँझदेखि परेको वर्षा र हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङमा यातायात र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको हिउँ सडकमै जमेपछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेतेमा सडक अवरुद्ध बनेको हो ।

लेतेस्थित सडकमा हिउँ जमेपछि सवारीसाधन जाममा फसेको हुँदा सवारी आवागमन अवरुद्ध भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमार्फत बताउनुभयो । उहाँका अनुसार हिमपातपछि शुक्रबारदेखि नै मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा आपूर्ति बन्द भएको छ ।

विद्युत सेवा बन्द भएपछि अहिले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सञ्चार सम्पर्क बिच्छेद भएको उहाँले जानकारी दिनुभयो । यसैगरी जोमसोम विमानस्थलको रनवेमा हिउँ जमेपछि हवाई उडान बन्द भएको सहायक प्रजिअ रेग्मीले बताउनुभयो । अहिले पनि निलगिरी हिमाल लगायतका डाँडाहरुमा बादल लागेको र हिमपात भैरहेको छ । जोमसोममा झण्डै १ फिटभन्दा बढी हिउँ जमेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुपसहितका स्थानमा भारी हिमपात भएको र झण्डै २ फिटभन्दा बढी हिउँ जमेको छ । कागबेनी, मुक्तिनाथसहित मुस्ताङका सबै ठाउँमा भारी हिमपात भएको सहायक प्रजिअ रेग्मीको भनाइ छ । हिमपातका कारण सवारी आवतजावत र हवाई उडान हुन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो अत्यधिक बढेको बताइएको छ ।

मुक्तिनाथ दर्शन र मुस्ताङ घुम्न पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आवतजावतमा रोक लगाइएको छ । अहिले मुस्ताङमा ईन्डियन पर्यटकहरु पुगेका छन् । उनीहरुलाई होटलमै बस्न आग्रह गरिएको सहायक प्रजिअ रेग्मीले बताउनुभयो । चिसो मौसम रहेको हुँदा जुनसुकै समयमा पनि वर्षा र हिमपात हुने भएकाले उनीहरुलाई टाढाको यात्रामा ननिस्कन आग्रह गरिएको छ ।