जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु, १ जनाको सनाखत

0
Shares

नेपाल समाचारपत्र, जनकपुर ।
धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टियामा जन्ती सवार बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ ।

सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा शुक्रबार साँझ करेन्ट लागेको थियो । बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर, जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको थियो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी हरीबहादुर पालकाअनुसार ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मृत्यु भएको छ । ३ महिला, १ बालिका, १ बालक र एक जना पहिचान हुन बाँकी व्यक्ति गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरी पालले जानकारी दिए । मृतकमध्ये रामबाबु अधिकारीको मात्र सनाखत भएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै सेना, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई सशस्त्र, प्रहरी, एम्बुलेन्सकर्मीहरुले जनकपुर अञ्चल अस्पतालतर्फ लगिरहेका छन् । तर, घाइतेहरुको संख्या एकिन भइसकेको छैन ।