हुम्ला र डोल्पाको हवाई भाडामा सहुलियत

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।
कर्णालीका विकट जिल्ला हुम्ला र डोल्पाका नागरिकहरुका लागी हवाई टिकटको भाडामा सहुलियत दिइने भएको छ ।

कर्णाली प्रदेशको उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले यातायातको पहुच वाट टाढा रहेका डोल्पा र हुम्ला जिल्लाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ हवाई टिकटको भाडामा सहुलियत दिने भएको हो ।

हुम्ला र डोल्पाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ हवाई टिकटमा सहुलियत दिन कर्णाली प्रदेश सरकारले रु एक करोड वजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशका यातायातले छुन नसकेका हुम्ला र डोल्पाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई हवाइ भाडामा सहुलिएत प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले भाडामा सहुलियत दिइएको कर्णाली प्रदेशका उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले जानकारी दिनुभयो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर देखि हुम्ला र डोल्पा तथा हुम्ला र डोल्पा देखि नेपालगञ्ज र सुर्खेत बिमानस्थल सम्म हवाइ यातायात गर्ने यात्रुहरुलाई भाडामा सहुलियत दिइएको मन्त्री वुढाले वताउनुभयो । मन्त्री वुढाका अनुसार डोल्पा र हुम्लाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ प्रति टिकट रु एक हजारका दरले सहुलिएत प्रदान गरिने छ ।

हवाइ यातायात गरेका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ प्रदान गर्न विनियोजन गरिएको सहुलियत रकम डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेत वाट वितरण गर्ने ब्यवस्था गरिएको उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले जानकारी दिनुभयो । डोल्पा र हुम्ला वाट नेपालगन्ज र सुर्खेतमा आउने हरुका लागी प्रदेश वन निर्देशनालय सुर्खेत मार्फत भुक्तानी दिइने ब्यवस्था मिलाइएको सचिव प्रधानले वताउनुभयो । प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर तथा नेपालगन्ज आउने तथा उक्त विमानस्थलवाट हुम्ला र डोल्पा जानेलाई मात्रै सहुलिएत प्रदान गरिने सचिव प्रधानले जानकारी दिनुभयो । पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ सेवा लिन सहज होस भनेर मन्त्रालयले हुम्ला र डोल्पामा डिभिजन वन कार्यालयमा भएका मध्येवाट एक जना कर्मचारी लाई विमानस्थलमा खटाइने उहाँले जानकारी दिनुभयो ।

सचिव प्रधानका अनुसार हवाई यातायात गर्ने पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई सहुलियत रकम सहजरुपमा प्राप्त गर्न डिभिजन वन कार्यालय हुम्ला, डोल्पा तथा प्रदेश वन निर्देशनालय सुर्खेतलाई पेश्की स्वरुप रु १०÷१० लाख दिइएको छ । सरकारले निमार्ण गरेको पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकरुका लागी हवाई यातायातमा सहुलियत सम्बन्धी कार्यविधि २०७५ जारी गरेपछि हुम्ला र डोल्पाका पुर्ण अपाङ्ग तथा जेष्ठ नागरिकले हवाई यातायात प्रयोग गरे वापत प्रति टिकट रु एक हजार पाउने भएका छन । हवाई सेवा लिने नागरिकहरुले नागरिकताको प्रतिलिपि, परिचयपत्र र टिकटको फोटोकपि वुझाउनुपर्नेछ । निमार्ण गरिएको कार्यविधि अनुसार कर्णालीमा रहेका ६० वर्ष भन्दा माथीकाले जेष्ठ नागरिकहरुले यो सेवा प्राप्त गर्न सक्नेछन ।

कर्णालीको हवाई यातायातलाई सहज वनाउन तथा विमानस्थलहरुमा नियमित उडान गर्नका लागी सरकारले हवाई इन्धनमा सहुलियत दिनका लागी रु एक करोड विनियोजन गरिएको सचिव प्रधानले वताउनुभयो । यसका लागी प्रदेश भित्रका विमानस्थलमा उडान गर्ने हवाईसेवा प्रदायक संस्था संग आवश्यक छलफल तथा समन्वय भैरहेको वताउनुभयो ।