कपिलवस्तु प्रहरीद्वारा सातामा साढे चार लाखको अबैध सामान बरामद

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले एक सातामा जिल्लाको विभिन्न नाकाबाट बरामद गरेको चार लाख ५० हजारको अबैध सामान भन्सार चलान गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली गरी नेपाल भित्राएको सो रकम बराबरका विभिन्न सामाग्री बरामद गरी प्रहरीले भन्सार पठाएको हो । माघ १० गते विहीबार मात्र कृष्णनगर प्रहरीले ४० हजार बराबरको ४ बोरा सूर्ती बरामद गरी कृष्णनगर भन्सार चलान गरेको प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयबाट खटिएको सिभिल प्रहरी टोलीले कृष्णनगर नगरपालिका १, कुकुरभुकवाबाट सूर्ती बरामद गरेको बोगटीले बताउनुभयो । काँधमा बोकेर ल्याउँदै गर्दा सिभिल टोलीलाई देखेर सूर्ती छाडी कारोबारी भागेपछि बेवारिसे अवस्थाबाट सूर्ती नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जनाउनुभयो ।

यसैगरी गत शुक्रबार (माघ ४ गते) कृष्णनगर ६ भिल्मीबाट २ लाख ९८ हजारको अबैध सामान बरामद गरी भन्सार पठाएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार २लाख ७० हजार को ४सय ५० प्याकेट मोजा, १४ हजार बराबरको ७० किलो सूर्ती र १४ हजार बराबरको ६० किलो सुपारी बरामद गरी कृष्णनगर भन्सारको जिम्मा लगाएको हो ।

यस्तै गत सोमबार (माघ ७) गते प्रहरी चौकी रंगपुरको प्रहरी टोलीले जिल्लाको यशोधरा गाउँपालिका ६, पुर्णिहवा नाकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १२ हजार मूल्यको घरमा सजाउने सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबि रावलले बताउनुभयो । सीमा नाकामा अबैध चोरी निकासी बढेपछि कपिलवस्तु प्रहरीले चेकजाँचमा कडा बनाएको प्रवक्ता रावलको भनाई छ ।