स्थानीय सरकारको आन्तरिक आय: गिटी–बालुवा की पर्यटन व्यवसाय ?

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
नदिजन्य उत्खनन्लाई नीतिगत रुपमै खुला गर्दै स्थानीय सरकारले टेण्डर गरेर उत्खनन् जिम्मा दिइरहेकाबेला सुनकोसी नदिलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । केहिदिन अघि सुकेटेस्थित सुनकोसी बीच रिर्सोटमा केन्द्र सरकारका मन्त्री, प्रदेश सरकारका प्रतिनीधि र स्थानीय सरकारका प्रतिनीधिहरुलाई भेला गरेर पर्यटन व्यवसायीहरुले सुनकोसीमा उत्खनन् बढिरहँदा नदी कुरुप बनिरहेको भन्दै नदि संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय सरकारले नदिजन्य उत्खनन् खुलाएपनि मापदण्ड मिचेर उत्खनन् हुन नहुने बताए । ‘सुनकोसीमा मापदण्डभित्रै रहेर उत्खनन् भएको देखिएन, यसबारे स्थानीय सरकारका प्रमुखले सोच्नुपर्दछ’, उनले भने,–‘केहि दिनमै हामी यसबारे एउटा कार्यविधि बनाएर पठाउँनेछौं, त्यपछि यो समस्या व्यवस्थापन हुन्छ ।’

भोटेकोसी र सुनकोसी नदिलाई पर्यटकीय गन्तव्यका रुपमा नै विकास गर्नुपर्नेमा उनले जोड दिए । खोला किनारका गिटी बालुवाकै आम्दानीले सिन्धुपाल्चोकले विकासमा गति लिएको स्मरण गर्दै प्रदेश सांसद सरेश नेपालले पछिल्लो समय नदिजन्य उत्खनन्ले समस्या निम्त्याइरहेको बताए ।

जिल्ला विकास समिति सभापति रहँदा आफैंले दहत्तर बहत्तरको नाममा आन्तरिक आय बृद्धिको सुरुवात गरेको भन्दै नदिजन्य उत्खनन्लाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । ‘दहत्तर बहत्तरकै आन्तरिक आम्दानीले गाउँ गाउँमा सडक पुगे, स्कुल बने’, उनी भन्छन्,–‘तर पछिल्लो समय उत्खनन्को काम अव्यवस्थित र मापदण्ड बिपरीत हुन थाल्यो ।’

आन्तरिक आयको मुख्य श्रोत मानिने गिटी बालुवा उत्खनन्लाई मापदण्डभित्र ल्याएर पर्यटन क्षत्रको विकास गर्नुपर्ने उनी बताउँछन् । नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा पनि नदीजन्य उत्खनन् पूर्ण रुपमा रोकिनुपर्ने पक्षमा देखिएनन् । मापदण्डभित्रै रहेर नदिजन्य उत्खनन् र बिक्रि गरि जिल्लाको आन्तरिक आय बढाउनुपर्न उनको धारणा छ ।

पर्यटन विकासमा हामी सवै मिलेर लाग्ने हो, नदि तटिय क्षेत्रलाई कसरी पर्यटकीय गन्तव्य बनाउन सकीन्छ छलफल गरौं’, उनले भने, –‘पर्यटन विकास गर्नुपर्छ भनेर नदिजन्य उत्खनन्लाई रोक्ने नै भन्ने होईन्, मापदण्ड कार्यान्वयन गर्दै उत्खनन्लाई व्यवस्थित बनाउनुपर्दछ ।’

नदिजन्य निर्माण सामाग्रीबाट नै चौतारा साँगाचोकगढी नगरपालिकाको यसवर्ष झण्डै ६ करोड आम्दानी भएको भन्दै मेयर अमानसिं तामाङले गिटी बालुवाको आन्तरिक आय पर्यटनबाट हुन नसक्ने बताए ।

राजमार्गको पर्यटन विकासमा नगरपालिकाले आवस्यक सहयोग गर्दैजाने बताउँदै पर्यटन व्यवसायीहरु नगरसँग समन्वय नै गर्न नआएको उनले सुनाए ।

‘पर्यटन विकासका कुरा गरिरहँदा पर्यटन व्यवसायी साथीहरु नगरपालिकासँग यसबारे आवस्यक समन्वय नै गर्नुहुन्न’, उनले भने,–‘गीटी बालुवाको टेण्डरबाट नगरपालिकाले यसवर्ष पौने ६ करोड आम्दानी गरेको छ ।’ चालु आर्थिक वर्षमा दहत्तर बहत्तरको टेण्रबाट पौने ६ करोड रुपियाँ नगरपालिकाले आम्दानी गरेको उनी सुनाउँछन् । ‘वर्षमा नगरपालिकाले पर्यटनबाट यतिधेरै आन्तरिक आम्दानी गर्न सक्छ की सक्दैन ?’, उनले प्रश्न गरे ।

नदिजन्य उत्खनन्लाई बन्द गर्दै पर्यटकीय विकासमा ध्यान दिइनुपर्ने आवाज एकाथरीले उठाइरहँदा अर्को पक्षले नदी बगरका गिटी बालुर खेर फालेर समृद्धिको बाटोमा अघि बढ्न सम्भवै नभएको तर्क गरिरहेका थिए । नदी उत्खनन्ले राजमार्गको पर्यटकीय सुन्दरता नै कुरप भइरहेको व्यापक जनगुनासो सुनियो । पर्यटन व्यवसायीहरुले कार्यक्रममा उपस्थित वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई पटक पटक नदिजन्य उत्खनन्लाई रोकिदिन माग गरे ।

‘मन्त्री ज्यू आफैंले देखिरहनुभएको छ, हेर्नुस सुनकोसीको सुन्दरता खै कहाँ छ ?’, पर्यटन व्यवसायी मेघ आले भन्दैथिए,– ‘आज नदिजन्य उत्खनन् तीव्र हुँदा नदि नै कुरुप भएपछि सुनकोसी किनारमा पर्यटकहरु घटिरहेका छन् ।’