वर्तमान सरकारले उल्लेखिय काम गर्न सकेनः नेता सिटौला

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर।
नेपाली काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीयता सहितको लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित सरकारले प्राप्त गरेको बलियो जनमतको सम्मान हुने उल्लेखनीय काम गर्न नसकेको आरोप लगाएका छन् । गृहनगर झापा भद्रपुरमा रहेका नेता सिटौलाले वुधबार प्रेस युनियन सम्बद्ध पत्रकारहरूसित आफ्नै निवास चन्द्रगढीमा कुराकानी गर्दै यस्तो आरोप लगाएका हुन् ।

निर्वाचनका बेला केही गर्ने आशा पालेर विश्वास र भरोसाका साथ मतदानले भारी बहुमत पाएका केपी ओलीले राज्य सत्ता हात पारेपछि केही गर्न नसकेकोमा देश र जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट निराश हुनु पर्ने दिन आएको धारणा राखेका थिए । बलियो जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण देश र जनताले परिवर्तित राजनीतिक संरचनाबाट निराश हुनु पर्ने अवस्था आएको नेता सिटौलाको धारणा थियो । नेकपा सरकार कमजोर हुँदा जनता निराश भएको आरोप लगाउँदै नेता सिटौलाले भने काँङ्ग्रेसले पनि तीन तहको राज्य संयन्त्रमा पाएको प्रतिपक्षी भूमिकामा निरीहता प्रकट गर्दा परिवर्तित राजनीतिक संरचनाले देश र जनताको हित हुन नसकेको प्रष्ट पारेका थिए ।

उनले वि .सं २०४६ को परिवर्तनपछि नेपाली काङ्ँग्रेसका तत्कालीन नेतृत्वले व्यवस्था अनुकुल काम गर्न नसक्दा दशवर्षे युद्धको नरसंहार व्यहोर्नु परेको स्मरण गर्दै वर्तमान सरकारले विगतको इतिहास बुझेर जनपक्षीय हुन नसके सङ्घीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा नपर्ला भन्न नसकिने प्रष्ट्याए ।

सरकारको कमजोरीप्रति प्रतिपक्षले खेल्नु पर्ने भूमिका नेपाली काँङ्ग्रेस नेतृत्वले अभिभावकत्व लिन नसक्दा नागरिकको आशा, भरोशा गर्ने ठाउँ नभेटिएको जनाउँदै नेता सिटौलाले सङ्घीय संरचना अनुसार पार्टी रूपान्तरण गरी जनताका घरदैलोसम्म जागर अभियान चलाइनु पर्ने धारणा राखे ।

उनले राज्यको एउटा अङ्गका रूपमा रहेको वायु सेवा निगम डुबाउन भूमिका खेल्ने जो कोही पनि कारबाहीको भागिदार हुनु पर्ने जनाए । नेपाली काँङ्ग्रेसको महासमिति भेलाले विमान घोटला काण्डका अभियुक्तमाथि कारबाही गर्नु पर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेको तर्क गर्दै सिटौलाले सरकारले भ्रष्टाचारमा संलग्न जोगाउन विभिन्न बाहनाबाजी गरिरहेकोमा आपत्ति समेत जनाए ।

पछिल्लो पटक काँङ्ग्रेस सभापतिमाथि विमान घोटलाको आरोप लागेको प्रति लक्षित गर्दै सिटौलाले दोष प्रमाणित गर्न सक्ने हो भने कारबाही चलाउन सरकारलाई चुनौति समेत दिए । उनले परिवर्तित राजनीतिक संरचनाको संरक्षणका लागि काङ्ँग्रेसले रूपान्तरणमा जान ढिलो गर्नु नहुने समेत जनाए ।

विधि र प्रकृया मिचेर सरकार अधिनायकवादको बाटोमा हिड्ने संकेत देखिएको भन्दै नेता सिटौलाले जनमत स्वेच्छाचारी प्रवृत्तिका लागि नभएकोले जनपक्षीय कामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले देश र जनताको पक्षमा काम पनि गर्न नसक्ने तर हावादारी गफमा अलमल गरेर सरकारले एक वर्षे अवधि बिताएकोमा जनता निराश हुने प्रमुख कारण रहेको स्पष्ट पारे ।