कांग्रेस नेताका नाममा स्थापित अस्पताल निर्माण रोकिएकोमा आपत्ति

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
जीपी कोइराला फाउण्डेसनले नेपाली कांग्रेसका नेताका नाममा स्थापित २ वटा अस्पताल बनाउने निर्णयलाई वर्तमान सरकारले रोकेको भन्दै आपत्ति जनाएको छ ।

फाउण्डेसनका ७ वटै प्रदेश संयोजकले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी जनताको उपचार पाउने हकमाथि वर्तमान सरकारले अवरोध गर्न खोजेको आरोप लगाएका छन् ।

यसअघिको सरकारले तनहुँमा गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल खोल्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । वर्तमान सरकार गैर–राजनीतिक संस्कार देखाउँदै अधिनायकबादतर्फ अघि बढेको समेत उनीहरुले आरोप लगाएका छन् ।

‘त्यहाँ आवश्यक छ भनेर नै यी अस्पताल बनाउने निर्णय भएको थियो तर अहिले नबनाउने निर्णय भएको छ भन्ने सुनेपछि खबरदारी गरेका हौं’ फाउण्डेसनकी प्रदेश नम्बर ३ की संयोजक रिता खनालले भन्नुभयो ‘सरकारले रोक्नै खोजेको हो भने यो निर्णय फिर्ता लिएर सर्वसाधरणको उपचार पाउने हकको रक्षा गर्नुपर्छ ।’

विज्ञप्तिमा प्रदेश नम्बर १ की संयोजक इन्दिरा थापा, २ का संयोजक डा. सुभाषचन्द्र यादब, ३ की संयोजक खनाल, गण्डकी प्रदेश संयोजक शारदा पौडेल, ५ का संयोजक डा. गोबिन्द पोखरेल, कर्णाली प्रदेश संयोजक रिता शाही र सुदुरपश्चिमका संयोजक चतुरबहादुर चन्दको संयुक्त हस्ताक्षर रहेको छ ।