निर्मला पन्तको हत्या कथामा ‘कोपिला’

0
Shares

हेटौंडा,(नेस) ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको कथामा आधारित भएर चलचित्र निर्माण भएको छ । चलचित्रको नाम हो–कोपिला ।

‘कोपिला’ को करिब एक महिना अवधिमा सोमबार छायांकन सम्पन्न भएको छ । चलचित्रलाई शिवम् अधिकारीले लेखन एवम् निर्देशन गरेका हुन् । सोमबार चितवनमा चलचित्रको इन्डक्ल्याप गर्दै छायांकन सम्पन्न भएको निर्देशक अधिकारीले बताए ।

करिब ८० लाख लागतमा निर्माण भएको चलचित्रमा पन्तको बलात्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अबस्थामा आइपुग्दासम्मको चित्रण समेटिएको निर्देशक अधिकारीले बताए ।

‘कोपिला’ मा पन्तका हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेश छ । चलचित्रका प्रमुख पात्र निर्मला अर्थात् ‘कोपिला’ को भूमिकामा सञ्जीवनी खरेललाई फिचर गरिएको छ ।

चलचित्रमा हेटौंडेली सञ्चारकर्मी मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता छन् भने कलाकार गणेश गिरीको प्रस्तुति छ । चलचित्रको कार्यकारी निर्मातामा सुभासराज काफ्ले, सहनिर्मातामा सम्पादक तथा एनिमिटर समिर मिया र छायांकार रामेश्वर कार्की छन् ।

‘कोपिला’ मा सरिता गिरी, गणेश गिरी, सिद्धीचरण श्रेष्ठ, अस्मिन घिमिर, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायत कलाकारको अभिनय छ । ‘कोपिला’ मा मुख्य सहायक निर्देशक रामबाबु खड्का र संगीत दीपक शर्माको रहेको निर्देशक अधिकारीले बताए ।

पन्तको हत्या भएको लगभग छ महिना बितिसक्यो । घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको आलोचना भइरहेको छ । हत्याकाण्डले दिनहुँ सञ्चारमाध्यममा स्थान लिइरहेको छ ।