महरा–राजदूत हाउ बीच भेटर्वाता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चिनियाँ राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा उहाँहरु वीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।

सो अवसरमा राजदूत हाउले चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश महरालाई हस्तान्तरण गर्नुभयो । उहाँले नव नियुक्त राजदूत हाउको कार्यकाल सफल बन्ने विश्वास गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विचार व्यक्त गर्नुभयो ।

चीनले नेपालको जलविद्युत, पर्यटन, सडक र अन्य पूर्वाधारका क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले चीनले शुरु गरेको बेल्ट एन्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिउत्तरमा चिनियाँ राजदूत हाउले आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउँदै नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताउनुभयो । वेल्ट एन्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएकाले नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने उहाँको भनाई थियो ।