अनशनरत डा. केसीलाई अस्पताल भर्ना, मुटुको समस्या र निमोनिया

0
Shares

अवस्था जटिल बन्दै गए इलाम अस्पतालमा उपचार नहुने

गणेश घिमिरे, इलाम ।
प्राध्यापक डाक्टर गोविन्द केसीलाई निमोनिया भएको छ । केसीलाई मुटुमा समस्या र निमोनिया भएपछि सोमबार बिहानै इलाम अस्पताल भर्ना गरीएको छ । मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि डा.केसीलाई बिहान सत्याग्रहस्थल फूलगाछीबाट इलाम अस्पताल ल्याइएको हो ।

केसीलाई हाल स्लाइन र अक्सिजन लगाएर राखिएको छ । इलाम अस्पतालका डा. विजेन्द्र कुमार शाहले डा. केसीको छातिको दायाँ भागमा निमोनिया देखिएको जानकारी दिए । छ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा केसीको मुटुको चाल र पल्स पनि अनियमित भएको उनले जनाए ।

राति खोकी लाग्ने, मुटुको चाल तलमाथि हुने, बोल्दा आवाज हराउने समस्या आएपछि चिकित्सक र डा केसीका सहयोगीको आग्रहमा केसी इलाम अस्पतालमा भर्ना हुन राजि भएका हुन् । अस्पतालमा गरिएको जाँचमा डा.केसीको रक्तचाप ९०–६० मिलिमिटर मर्करी, मुटुको गति १०० र शरीरमा अक्सिजनको मात्रा ८९ प्रतिशत छ । सामान्य अवस्थामा शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । संक्रमण रोक्न चिकित्सकले ऐन्टिबायोटिक प्रयोग गर्न अनुरोध गरेपनि केसीले अस्वीकार गरेका छन् ।

केसीलाई दिने अक्सिजन पनि बाहिरबाट मगाइयो

उपचारका लागि इलाम अस्पतालमा डा केसीलाई ल्याएको समयमा अस्पतालमा अक्सिजन भने सकिएको थियो । बाहिरबाट ल्याएर केसीलाई अक्सिजन दिइएको डा. केसीका सहयोगि अभिषेक सिंहले बताए ।

डा. केसीलाई उपचारका लागि अस्पतालमा ल्याउँदा अक्सिजन सकिएको थियो, आफूहरुले बाहिरबाट मगाएर अक्सिजन दिएको उनले बताए । डा केसीको स्वास्थ्य दिनहुँ बिग्रदै गएपछि चिकित्सकको टोलिले उहाँको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

केसीको पाँचदिनयता तीनपटक स्वास्थ्य परीक्षण गरीएको डाक्टर केसीको उपचारमा संलग्न इलाम अस्पतालका डा. विजेन्द्र कुमार शाहले बताए । आइतबार केसीको रक्तपरीक्षण तथा पिसाब परीक्षण गरीएको थियो । परीक्षणबाट छाति र फोक्सोमा समस्या देखिएपछि सोमबार बिहानै सत्याग्रहस्थलबाट एम्बुलेन्समा राखेर इलाम अस्पताल ल्याइएको हो ।

‘अवस्था जटिल बन्दै गएको अवस्थामा इलाम अस्पतालमा उपचार हुन सक्ने अवस्था छैन’ डाक्टर शाहले भने ‘इलाम अस्पतालमा आइसियू, एनएस थेसिया, क्रिटिकल केयर एक्सपोर्ट र मुटुको चाल नियमित गर्ने हाइग्रेड औषधि समेत नहुँदा यहाँ उपचार संभव हुन सक्दैन ।’

शाहका अनुसार डा. केसीलाई पछिल्लो समयमा देखिएको समस्या ‘टन्सिल र फेनेन्जाइटिस विथ राइट बेजल निमोनिया इन सेप्सिस विथ डिहाइड्रेसन विथ डिसइलेक्ट्रो लाइटिमिया विथ इक्टोपिक्ट बिट्स’ हो ।

पन्ध्रौ सत्याग्रहको समयमा डा केसी र सरकारबीच गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत् माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएको थियो ।

तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक सम्झौता बिपरीत पारीत गरेपछि डा.केसीले २५ गतेबाट १६औं सत्याग्रह थालेका हुन् ।