भारतबाट उद्धार गरिएका दुई बालकलाई परिवारको जिम्मा

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

भारतबाट दुई बालकलाई उद्धार गरी शान्ति पुनस्र्थापना गृहले परिवारसँग पुनर्मिलन गराएको छ । भारतको हरिद्वार सुधार गृहबाट उद्धार गरी शान्ति पुनस्र्थापना गृहले नेपालगञ्ज उपमहानगरपालिकाका दुई बालकलाई परिवारलाई बुझाएको हो ।

उद्धार गरिएका बालकहरु नेपालगञ्ज उपमहानगरपालिका २०, मनिकापुरका हुन् । तीन महिनाअघि घरबाट भागेर १४ वर्षे निशान्त गिरी र १५ वर्षे कालु वि.क. भारत पुगेका थिए । भारतको देहरादूनस्थित हेल्पप्रसका अध्यक्ष विशाल थापाको समन्वयमा शान्ति पुनस्र्थापना गृहले नेपाल फर्काउन सफल भएको शान्ति पुनस्र्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

नेपाल फर्काइएका बालकहरुलाई वडाध्यक्ष कृष्ण कार्कीको रोहबरमा परिवारको जिम्मा लगाइएको संयोजक भूमिराज भट्टराईले बताउनुभयो । बालकहरु फेला परेको खबर पाए लगत्तै शान्ति पुनस्र्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराई तथा पीआरसी केन्द्रिय कार्यालयका सुमन सापकोटा र लेखाअधिकृत दिनेश्वर गौरसहितको टोली भारतको देहरादून पुगेको थियो । देहरादूनस्थित बाल कल्याण गृहको आदेश लिई बालकहरुलाई हरिद्वारस्थित बाल सुधार गृहबाट जिम्मा लिई नेपाल फर्काउन सफल भएको संयोजक भट्टराईले बताउनुभयो ।

उद्धार गरिएका बालकहरुमा निशान्त गिरी कक्षा ६ मा र कालु वि.क. कक्षा ४ मा अध्ययनरत छन् । निशान्तलाई आमा काली गिरी र कालुलाई हजुरआमा मनकला सार्कीको जिम्मा लगाइएको पीआरसी संयोजक भट्टराईले जानकारी दिनुभयो ।

कसरी पुगे भारत निशान्त र कालु…?

कालु वि.क.का बुवाआमा पप्पु र माया भारतको सिमलामा काम गर्दै आएका छन् । एउटै विद्यालयमा पढ्ने कालु र निशान्त मिल्ने साथी हुन् । उनीहरु सँगसँगै विद्यालय जाने आउने गर्दथे । उनीहरु बुवाआमालाई भेट्न भारत जाने सल्लाह गरे । तीन महिनाअघिको कुरा हो उनीहरु घरमा कसैलाई थाहै नदिई घरबाट भागे ।

भारतको सिमला त पुगे तर दुई दिनसम्म बुवाआमालाई खोजे । उनीहरुसँग बुवाआमाको सम्पर्क नम्बर पनि थिएन । यताउता भौँचारिए तर त्यो ठूलो शहरमा उनीहरुले कतै पत्ता लगाउन सकेनन् । आफुसँग भएको पैसा पनि सकियो । खानको लागि उनीहरु गिट्टी कुट्न थाले । एकदिन स्थानीय केटाकेटीसँग झगडा भएपछि उनीहरु त्यहाँबाट भागेर देहरादून पुगे ।

देहरादून पुगेका उनीहरु एक होटलमा पुगे । होटलमा काम गर्न मागे तर भारतमा बालश्रमिक बनाउनेलाई कडा कारबाहीको नियम छ । होटलसाहुले काम नदिएपछि उनीहरु होटल छेउमा बस्ने र मागी खाने गर्न थाले । होटलसाहुले प्रहरीलाई खबर गरेपछि प्रहरी आई उनीहरुलाई लग्यो र त्यहाँस्थित बालकल्याण समितिलाई बुझाईदियो । करीब दुई महिना त्यहाँ बसे तर उनीहरुको अभिभावक पत्ता लागेन । पछि उनीहरुलाई अभियोग लगाएर बालकल्याण गृहले हरिद्वारस्थित बालसुधार गृहमा रिफर गरिदियो ।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको देहरादूनस्थित हेल्पप्रसका बिशास थापाले बालकहरुबारे जानकारी लिएपछि नेपालको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईलाई यसबारे जानकारी गराउनुभएको हो । सोही जानकारीका आधारमा बालकहरुको अभिभावकहरु पत्ता लगाई पीआरसी टोली भारतको देहरादून पुगेर हेल्पप्रसको सहयोगमा दुई बालकलाई नेपाल ल्याउन सफल भएको भट्टराईले जनाउनुभयो ।