सशस्त्रद्धारा अवैध सामान बरामद

0
Shares

भद्रपुर, (ने.स) ।
सशस्त्र प्रहरीले ६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । झापाको भद्रपुर– ५ र विर्तामोड– १० बाट कपडा र किरानाका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर झापा २ नम्बर गणले जनाएको छ ।

गणले दिएको जानकारी अनुसार भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा शनिबार मध्यराती भद्रपुरको गणेश मन्दीर पूर्वबाट चार पोकामा रहेको ४ लाख ९५ हजार २ सय रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको डिएसपी ओजेश ओलीले जनाए । गणका इन्सपेक्टर सचिन प्रधानको नेतृत्वमा गएको टोलीले सुटिङ,साडी,नेट कपडा,वनारसी साडी, तयारी कपडा लगायत बरामद गरिएको डिएसपी ओलीले वताए ।

त्यसैगरी विर्तामोड स्थित बुट्टाबारीबाट एकलाख रुपैयाँ मूल्य बरावरको विभिन्न प्रकारका किराना सामग्री बरामद गरेको उनले जनाए । भारतबाट भन्सार छलेर काकँडभिट्टा हुदै विर्तामोड तर्फ ल्याउदै गरेको अवस्थामा असइ आइन्द्र लिम्बूको नेतृत्वमा सामान बरामद गरेको उनले जानकारी दिए । दुइ स्थानमा गरी ५लाख ९५ हजार २ सय रुपैयाँ मूल्य बराबरको सामाग्री रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको किराना सामग्रीलाइ आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा र कपडालाइ भद्रपुर भन्सार कार्यालय बुझाइएको छ भने सार्वजानिक गरिएको मूल्य भन्सारले कायम गरेको अनुसार रहेको प्रहरीले जनाएको छ ।

एकदिन अघि जनपथ प्रहरीले समेत साढे ५ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर–५ र मचीनगरबाट कपडा , सुख्खा सुपाडी,किराना सामान बरामद गरी भन्सार बुझाइएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।