प्रदेशमा पुलका लागि स्विस सरकारसँग सम्झौता

0
Shares

हेटौंडा,(नेस) ।
प्रदेश–३ मा पुल निर्माणका लागि स्विस सरकारले प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारबाट निर्माण हुने स्थानीय सडकका मोटरेबल पुल निर्माणका लागि आवश्यक प्राविधिक सहयोग गर्न प्रदेशको भौतिक मन्त्रालय र लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) को टोलीबीच सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा र एलआरबीपीका टोली नेता बेह्नम दलीलीबीच सम्झौतापत्र आदानप्रदान गरिएको छ ।

नेपाल सरकार र स्विस सरकारबीच विभिन्न सहयोगको सम्झौताअनुरुप स्विस सरकारले प्रदेशलाई पनि सहयोग गर्न लागेको हो । पुल निर्माण सुरु गर्दादेखि सम्पन्न हुने समयसम्मको प्राविधिक खर्च पनि स्विस सरकारले व्यहोर्ने टोली उपनेता शकिल मानन्धरले जानकारी दिनुभयो । पुल डिजाइन, सर्भे, रिपोर्ट तयार, जाँच तथा अनुगमन एलआरबीपीले गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख सचिव आनन्दराज ढकाल, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिव रमेश शिवाकोटी र भौतिक पूर्वाधार निर्देशनालय प्रमुख महेशचन्द्र न्यौपानेको सहभागिता थियो ।