प्रहरी इन्काउन्टरमा मारिएका साहनी अपहरणकारी र फिरौतीवाला

0
Shares

यमलाल भुसाल, बुटवल ।
रुपन्देहीमा प्रहरीको गोलीवाट मृत्यु भएका व्यक्ति सिद्धार्थ नगरपालिका ६ गल्ला मण्डीका ३५ वर्षिय केदार साहनी भएको पुष्टि भएको छ ।

विसं २०७१ साल असौजको ११ गते भैरहवाका आकास गुरुङलाई अपहरण गरी नवलपरासीको वर्दघाटमा हत्या गरी फरार रहेका व्यक्ति नै केदार साहनी भएको प्रहरीले जनाएको छ । प्रहरीको मोस्टवान्टेण्ट सूचिमा रहेका साहनीको प्रहरीको जवाफी कारवाहीमा मारिएका छन ।

रुपन्देहीको भैरहवा स्थित सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्करी रोक्न भन्दै खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार गरेपछि जवाफी कारबाहीमा साहनीको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिनु भयो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३५ वर्षका साहनीले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ । मृतकको १७ घण्टा पछिमात्र पहिचानखुलेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी उपरिक्षक थापाका अनुसार साहनीले चलाएको गोली लागि प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ । रुपन्देहीमा तस्करी मौलाइरहेको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले सर्च अपरेसन तथा जिल्लाका विभिन्न नाकाहरुमा आफ्नो निगरानी बढाएको थियो ।

एसपी थापाका अनुसार तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीको एक टोली रुपन्देहीको धकधई र अर्काे टोली शंकरपुरतर्फ खटाइएकोमा शंकरपुरमा सो घटना भएको हो ।

रातीको समयमा हतियार सहित हिडनेहरु अपराधी वा तस्करीको सेटिगं गराउदै हिडने हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

शनिवार राती पौने १२ वजेको समयमा मोटर साईकिलमा आएका दुई जना मध्ये एक जना भागेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।