रवीन्द्र मिश्रले उज्वल थापालाई भनेः फेरि एक भएर सँगै यात्रा गरौँ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
विवेकशील साझा पार्टीका पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएसँगै संयोजक मिश्रले थापालाई फेरि एक भएर सँगै यात्रा गर्न आग्रह गरेका छन्। पार्टी कार्यालयमा शनिबार पत्रकारहरूमाझ संयोजक मिश्रले कुनै आग्रह र पूर्वाग्रह नभएकोले देश बनाउन सँगै हिँड्नुपर्ने बताए।

‘कुनै आग्रह, पूर्वाग्रह छैन। आउनुस् सँगै हिँडौं,’ संयोजक मिश्रले भने, ‘संवाद नगरी हुँदैन। नजानेको यात्रामा सँगै हिँड्दा हाम्रा तर्फबाट पनि कमजोरी भयो होला, छोडेर जानुभएका साथीहरूबाट पनि कमजोरी भयो होला।’सँगै हुँदा देश र बाहिर बस्ने साथीहरू उत्साहित भएको र अहिले छाडेर जाँदा उत्साहमा चिसोपन आएको मिश्रले बताए।

उनले भने ‘हामी यो तीनवटै चुनौतीबाट माथि उठ्छौं भन्ने थियो । माथि उठ्ने क्रममा यो पटक जस्तो जटिलता आयो, मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौं । र, त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौं ।’

पार्टीका अर्का संयोजक उज्वल थापाले विधि प्रक्रिया मिचेर समिक्षा प्रतिवेदन लेखेको उनले बताए । यसका बाबजुद ३० गते सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा बनाएको अवस्थामा पार्टी छाडेर जानु दुःखद भएको उनले बताए ।

पार्टीको नाम के हुन्छ भन्ने प्रश्नमा संयोजक मिश्रले विवेकशील साझा पार्टी नै रहने बताए ।