ठेउलाको प्रकोपबाट विद्यालय बन्द

0
Shares

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिका–१४ स्थित डडुवा भवानी शङ्कर माविका छात्रछात्रा ठेउला रोगबाट ग्रसित भएपछि पाँच दिनको लागि विद्यालय बन्द गरिएको छ ।

गत मङ्गलबार चार विद्यार्थीमा देखा परेको सो रोगले हाल दुई दर्जन बढी छात्रछात्रा बिरामी परेकाले चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण हुन नदिन आगामी माघ २ गतेसम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक बद्री नेपालले जानकारी दिनुभयो । शुरुमा सामान्य ज्वर आउने, शरीरमा बिबिरा देखा पर्ने लक्षण रहेको सरुवा रोग भएकाले सङ्क्रमण हुन नदिन चिकित्सकका सुझावअनुसार व्यवस्थापन समिति, जनप्रतिनिधि र अभिभावकको भेलाले आजदेखि विद्यालय बन्द गरिएको प्रअ नेपालले बताउनुभयो ।

विद्यालयमा रोग फैलिएको जानकारी पाएपछि विश्व स्वास्थ्य सङ्गठनका डा सागर शाक्यसहितको टोलीले निरीक्षण गरी महामारीको रुप लिन नपाओस् भन्ने उद्देश्यले औषधि वितरण गर्नुका साथै विद्यालय बन्द गर्न सल्लाह दिएको नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरीले बताउनुभयो । हाल सो विद्यालयमा ३२६ विद्यार्थी अध्यनरत छन् ।
रासस