नेपाल समाचारपत्र, काठमाडौं
उपत्यका नगरपालिका फोरमले जनप्रतिनिधिको उच्च सम्मान हुने गरी मर्यादाक्रम संशोधन गर्न माग गरेका छन् । फोरमको गोकर्णमा सम्पन्न बैठकले मन्त्रालयबाट निर्धारण गरि जारी गरिएको मर्यादाक्रम प्रति गम्भीर असन्तुष्टि रहेको जनाएको छ ।
उक्त मर्यादाक्रमलाई तत्काल संशोधन गरि जनप्रतिनिधिहरुको उच्च सम्मान कायम हुने गरि मर्यादाक्रम निर्धारण गर्न संघीय सकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा फोहोरमैला व्यवस्थापन, सडक संजाल सरसफाइ, अन्तर नगर साझेदारी योजना संचालन लगायतका आधा दर्जन विषयमा निर्णय भएको थियो ।
बैठकले वर्षा अघि नै उपत्यकाको फोहोर बञ्चरेडाडाका व्यवस्थापन गर्नेगरी संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । सरकारले काठमाण्डौ उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको दिगो तथा बैज्ञानिक व्यवस्थापन गर्न निर्धारित स्थान नुवाकोट जिल्लास्थित बन्चरे डाँडाको विकास, स्तरोन्नति र फोहरमैला व्यवस्थापनको वैज्ञानिक विधि अवलम्वन गर्ने भौतिक संरचना सहितको केन्द्र संचालन गर्न प्रकृया अघि बढाइसकेको छ ।
त्यस्तै बैठकले उपत्यका भित्रको फोहरमैलाको व्यवस्थापन निजी क्षेत्र मार्फत हुनेगरि कारवाही अगाडि बढेको अवस्थामा कामपालगायतका अन्य स्थानीय तहमा फोहरमैला व्यवस्थापनका कार्यमा संलग्न कर्मचारीहरुको उचित व्यवस्थापनको लागि संघीय सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
त्यसै गरी लगानी बोर्ड मार्फत निजी क्षेत्रले फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा लिएपछि थप प्रकृया अघि नबढेको अवस्थामा आगामी चैत महिनाभित्र प्रकृया टुङगयाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने, काठमाण्डौ उपत्यकाको धुवाँ, धुलो तथा वायु प्रदुषण नियन्त्रण गरि स्वच्छ र स्वस्थ वातावरण विकास गर्न एवं उपत्यकावासीहरुको जनजीवनलाई थप सहज बनाउन आधुनिक उपकरण ब्रुमर खरीद गर्न उल्लेख्य बजेट वा बु्रमर खरीद गरि उपलब्ध गराईदिनहुन प्रदेश नं. ३ का प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले सार्वजनिक खरीद ऐन, २०६३ को कतिपय विद्यमान व्यवस्थाहरुका कारण सार्वजनिक विकास निर्माणका कार्यहरु तथा सार्वजनिक खरीदमा जटिलता, अप्रभावकारीता र ढिलासुस्ती हुने गरेको पाइएको उल्लेख गरेको छ ।
उक्त सार्वजनिक खरीद ऐन, २०६३ मा आवश्यक संशोधन गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने साथै ऐतिहासिक, साँस्कृतिक, परम्परागत सम्पदा संरक्षण, प्रवद्र्धन तथा पुनःनिर्माणको लागि विशेष व्यवस्था गर्न संघीय सरकारसंग माग गर्ने, संविधानले स्थानीय तहलाई प्रद्धत गरेका अधिकारहरु विभिन्न वहानामा कटौती गर्न भइरहेको प्रयत्न प्रति यस फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाउदै बैठकले संविधान प्रद्धत अधिकारहरु कटौती गर्ने, निष्प्रयोजन गर्ने वा केन्द्रिकृत गर्ने कार्य भए गरिएमा संवैधानिक तथा कानूनी उपचारको लागि न्यायिक निकायमा जान बाध्य हुने भएकोले सो तर्फ सम्वद्ध निकायको ध्यानार्षण गर्ने निर्णय गरेको छ ।
प्रदेश नम्बर ३ का प्रदेश प्रमुख डोरमणी पौडेल र दोस्रो सत्र पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको पश्मुख आतिथ्यमा सम्पन्न बैठकले उपत्यकाको शहरी सुव्यवस्थापनको लागि महत्वपूर्ण मानिने सडक संजाल तथा सरसफाई लगायत अन्य शहरी व्यवस्थापनको कार्यलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन उपत्यकाको समग्र गुरुयोजना तयार गर्ने, अन्तरनगर साझेदारी कार्यलाई व्यवस्थित रुपमा संचालन गर्दै जाने र थप प्रभावकारी बनाउने प्रथम योजनाको रुपमा मध्यपुर थिमि नगरपालिकाअन्तर्गत शंखधर पार्क र शंखधर सामुदायिक भवन निर्माण गर्ने निर्णय गरेको छ । बैठकले काठमाण्डौ उपत्यका भित्रका स्थानीय सरकारका प्रमुख तथा उप—प्रमुखहरुको अलग्गै पहिचान खुल्ने प्रकृतिको छुट्टै लोगो निर्माण गर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया