रविन घिमिरे, काठमाडौ । कलंकीको पिनाकल स्कलर्स एकेडमीको बिज्ञान प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेको पढाउने रोबोट अर्थात असिस्टेन्ट टिचिंग रोबोटको प्रदर्शन गरिएको छ । ४ जनाको समूहमा रहेका विद्यार्थीले पढाउने रोबोटको निर्माण गरेका हुन् । जसलाई नेपालकै पहिलो असिस्टेन्ट टिचिंग रोबोट (पढाउने रोबोट) भनिएको छ । उक्त रोबोटको नाम दिदी राखिएको छ ।
रोबोटको निर्माण कक्षा १० का विद्यार्थी लोसन पराजुली, कन्चन पोखरेल, विशाल खरेल र ओशिन दुराले गरेका थिए । विद्यालयले शनिबार आयोजना गरेको विज्ञान प्रदर्शनीमा उनीहरुले निर्माण गरेको उक्त रोबोट प्रदर्शन गरेका हुन् ।
विद्यालयका प्रिन्सिपल निमिराज घिमिरेले उक्त रोबोटको अनावरण गर्नुभएको थियो । अनावरणपछि बोल्दै प्रिन्सिपल घिमिरेले यस्तो रोबोट बनाउने विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।
म्यानेजिंग डाइरेक्टर लोचन घिमिरे, बिज्ञान विभाग प्रमुख दीपक देवकोटालगायत सुभाष रेग्मी, भीषण लामिछाने, सन्दीप भुसाल, इन्जिनियर सजन सुवेदीको पनि यसको निर्माणमा सहयोग रहेको विद्यार्थीले बताएका छन्।
छोटो समयमा विद्यार्थीले दिदीको निर्माण गरेका हुन् । निर्माण टोलीका विद्यार्थी लोसन पराजुलीले भने ( हामीले यो २ दिनमा निर्माण गरेका हौँ । यसले मानिसले दिएको निर्देशनलाई पालना गरेर आफूसँग भएको कम्प्युटरको सहायताले शिक्षण गर्न सक्छ , ४ फिट अग्लो उक्त रोबोट निर्माणमा १ लाख खर्च भएको बताइएको छ । रोबोटले इन्टरनेटको प्रयोगबाट कक्षामा पुगेर भिडियो देखाइ शिक्षण गर्ने निर्माण समूहका पराजुलीले बताए ।
पढाउने रोबोट नै भएपछि त शिक्षक नै नचाहिने हो ? भन्ने प्रश्नको जवाफ दिँदै पराजुले भने– वास्तवमा यो सामान्य बुझाइमा त्यस्तो भए तापनि यो शिक्षकको सहकर्मी हो । यसले शिक्षकलाई पढाउन सहयोग गर्छ । शिक्षक नचाहिने होइन , किनकी यसलाई निर्देशन दिन पनि त शिक्षकको आवश्यकता पर्छ ।
एसईईको तयारीमा रहेका विद्यार्थीले यति छोटो समयमा रोबोटको निर्माण गर्नु ठूलो उपलब्धि भएको एक अभिभावकले नेपाल समाचारपत्रलाई बताए ।
प्रदर्शनीमा रोबोटले वरपरसम्म हिँडेर आफूसँग भएको कम्प्युटरमा भिडियो देखाई शिक्षण गरेको थियो । उक्त रोबोटमा स्थानीय सामग्रीका साथै केही विद्युतीय सामग्रीको प्रयोग गरिएको म्यानेजिंग डाइरेक्टर लोचन घिमिरेले बताए ।
विज्ञान प्रदर्शनीमा अन्य विद्यार्थीले आफूले बनाएका ज्वालामुखी, सौर्यमन्डल, स्काभेटर, पंखा, व्यवस्थित शहरलाई आफ्ना अभिभावकसमक्ष प्रदर्शन गरेका थिए । प्रदर्शनीमा अभिभावकको बाक्लो उपस्थिति थियो ।











प्रतिक्रिया