आजदेखि इलाममा लगानी सम्मेलन

0
Shares

गणेश घिमिरे, इलाम
आन्तरिक पुँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ इलाम नगरपालिकाले सदरमुकाममा शुक्रबार लगानी सम्मेलन गर्दैछ । स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो ।

आयोजना गरिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । इलाम नगरपालिका, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ र इलाम उद्योग बाणिज्य संघले संयुक्त रुपमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी– व्यवसायीलगायतको सहभागिता रहने बताइएको छ ।

इलाम नगरपालिकामा लगानीका क्षेत्र पहिचान गर्दै देशभरका ठँला उद्योगीलाई नगरभित्र विभिन्न क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्न लगानी सम्मेलन आयोजना गर्न लागेको नगर प्रमुख महेश बस्नेतले बताउनुभयो । ‘लगानीकर्ताले गरेको लगानीले इलामबासीको जीवनस्तर उकास्दै नगरपालिकाको समृद्धिमा ठँलो सघाउ पुग्नेछ’ उहाँले भन्नुभयो–‘जिल्लामा बाह्य लगानी कम भएकाले चिया, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटीलगानीका लागि पहिचान गरिएको प्रमुख क्षेत्र रहनेछ ।’

जिल्लामा आर्थिक समृद्धिको अभियानलाई अघि बढाउन, पुँजी र प्रविधि भित्र्याउन, जिल्लालाई औद्योगीकरण बनाउनेलगायतका उद्येश्य राखेर सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनको तयारी गरिरहँदा इलाम नगरपालिकाले लगानीमैत्री वातावरण बनाउन नीति तथा तर्जुमा बनाइसकेको छ । जिल्लालाई आगामी दिनमा औद्योगिक ग्रामको रुपमा विकास गर्न यो लगानी सम्मेलन कोसेढु्ंगा बन्न सक्ने बस्नेतको दाबी छ ।