तरकारी खेतीबाट लाखौं आम्दानी

0
Shares

विनोद सिंह विष्ट, बैतडी
बैतडीको सुर्नया गाँउपालिका वडा न. ६ मोतिनगर रौटेका पदमराज भट्ट । उनले परिश्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् । पछिल्लो समयमा युवाहरु विदेश गइरहेका बेला भने भट्टले तरकारी खेतीबाटै आम्दानी गरिरहेका छन् ।

पदरमराज जिल्लाकै एक कुशल युवा उद्यमीको रुपमा स्थापित भएका छन् । मध्यम वर्र्गीय परिवारमा जन्मेका पदमले भारतको देहरादुन बाट आइएस्सी पास गरेका हुन् । उनलाई बुवा कृष्णानन्द भट्टले पढाई गर्नका लागी भारतको देहरादुन पठाउनुभएको हो । आइएस्सी पास गरेर वि.स २०७० सालमा घर फर्किएका पदमले तरकारी गरेर बस्ने भनेपछि घरपरिवार र गाँउलेहरु सबै अचम्मित भएका थिए ।

पदमराजले अहिले तरकारी खेतीबाटै बार्षिक १५ लाख रुपैयाँ बढी कमाउछन् । सुरुमा बुवाले पदमलाई खेतमा तरकारी लगाउन खेत समेत दिएका थिएनन् । मकै फल्ने खेतबारी तरकारी रोप्न नदिने भनेपछि पदमले बुवालाई ३ रोपनी जमिन ३ हजार रुपैयाँ भाडा तिर्ने सर्तमा लिएका थिए । उहाँले त्यो जग्गामा बन्दागोबी रोपेर त्यही बन्दाबाट ५४ हजार रुपैयाँ आर्जन गरेको थियो । बुवालाई भाडा तिर्न ३ हजार रुपैयाँ लगेर गएपछि उल्टै बुवा कृष्णानन्दले काममा सफल भएको भन्दै खुसी भएर ३ हजार थपेर ६ हजार दिएको उनले बताए ।

बुवाले थपेर दिएको पैसाले त पदमको हौसला झन बढ्यो । पहिलो खेतीबाट राम्रो कमाई गरेका पदमले दोश्रो बर्ष ८ रोपनी जमिनमा बन्दा रोपे । यसपाली उनलाई परिवारको पनि साथ मिल्यो ५ महिनामै परिवारलाई ३ लाख रुपैयाँ दिएका पदमले तेश्रो बर्ष तरकारी बाटै ८ लाख रुपैयाँ आर्जन गरेको छ । हरेक बर्ष उनले बन्दा, काउली, टमाटर, मुला र पालुंगो लगायत सबै प्रकारको तरकारी उत्पादन गरेर बेच्न थालेपछि परिवारका सदस्यहरु खुशी भएका छन् ।

तरकारी खेतीका साथै पदमले बाख्रा पालन पनि गरिरहेका छन् । अहिले पदमले तरकारी खेती बाख्रा पालन व्यवसायबाट बार्षिक १५ लाख रुपैयाँ कमाई गर्छन् । उनले खसी बेचेरै हरेक बर्ष १ लाख बढी कमाउने गरेका छन् ।गतसाल पदमले १ लाख २० हजार आर्जन गरे भने यस बर्ष १ लाख १० हजार कमाएको र अहिले पनि ३० भन्दा बढी खसी बाख्रा रहेका छन् । यही पेशा गरेर उहाँले तराइमा जमिन समेत किनेका छन् ।

पदमलाई नमँना उद्यमीको रुपमा विभिन्न कार्यक्रमहरुमा समेत बोलाउने गरिएको छ । धेरै कार्यक्रमहरुमा उनले आफ्नो कथा सुनाइसकेका छन् । जिल्लाका विभिन्न ठाँउमा पुगेर आफुले जानेको र सिकेको सीप पनि सिकाइरहेको उनले बताए । ‘आफुसंग इच्छाशक्ति भए पछि विदेश जान पदैन् उनले भने मेहनत र लगनशील भएर काम गरे स्वदेशमै राम्रो पैसा कमाउन सकिन्छ’ उनले भने ।