बडीमालिका नगर सरकारका १७ महिनामा १७ काम

0
Shares

दयाराम पण्डित, बाजुरा
स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको २ दशकपछि असार १४ गते नेपाली जनताले स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधि निर्वाचित गरी जनसेवाको जिम्मेवारी सुम्पेको करिब १७ महिना पूरा भएको छ । देशका विभिन्न स्थानीय तहमा आआफ्नो ढंगले काम कार्य अघि बढेका छन् ।

बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाले जनप्रतिनिधि आएको १७ महिनामा १७ वटा जनहितकारी काम गरेको भन्दै बिहीबार सार्वजनिक सञ्जालमार्फत् नगरपालिका अल्पकालीन र दीघकालीन कार्ययोजना सार्वजनिक गरेको बडिमालिका नगर उपप्रमुख कविता विष्टले बताउनुभएको छ । जनताले चाहे जति काम गर्न नसके पनि चुनावताका दिएका आश्वासन र दीर्घकालीन विकासको अवधारणाअनुसार सिंगो नगरपालिका द्रुत गतिमा लागेको सूचना अधिकारी वीरबहादुर विष्टले बताउनुभयो ।

संविधानले कल्पना गरेअनुसार सहकार्य, समन्वय र सह–अस्तित्वको मूल्य मान्यतामा रहेर तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय) स्वायत्त र अधिकार प्राप्त छन् । आवश्यक नीतिनियम निर्र्माण गर्नसक्ने, आफ्नो बजेट आफैं बनाउन सक्नेलगायतका अधिकार प्राप्त सरकारले १७ महिनामा के कस्ता उपलब्धि हासिल गरे त ? बाजुरा जिल्लाकै जेठो नगरपालिका बडीमालिका नगरपालिका २०७१ सालमा स्थापना गरिए पनि जनप्रतिनिधि निर्वाचित भएर आएपश्चात १७ महिनामा १७ वटा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको नगरप्रमुख पदम बडुवालले बताउनुभएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको मार्तडीलाई नमुना शहरका रुपमा विकास गर्न नगर सरकारले अभियान थालेको छ । पहिलो चरणमा डिभिजन वन कार्यालयदेखि जिल्ला अस्पताल प्रवेशद्वारसम्म र गौंडा डिलदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।

तमाम स्रोत भएर पनि सधैं हाहाकार हुने मार्तडीको खानेपानीलाई व्यवस्थित गर्न बृहत् मार्तडी खानेपानी विस्तृत योजना तयार गरी खानेपानी व्यवस्थित कार्य सञ्चालन भएको छ । पाँच ठाउँमा ५० घनमिटरका ट्यांकी बनाई पानी वितरण गरिने गरी निर्माण कार्य प्रारम्भ भएको छ ।

बडीमालिका नगरपालिकाले इ–बडीमालिका अभियानअन्तरगत हरेक वडामा इन्टरनेट सुविधा पु¥याएको छ । पहिलो चरणमा वडा कार्यालय क्रमशः स्वास्थ्य संस्था, विद्यालयमा जडान गरिँदै लगिनेछ ।

प्रत्येक नगरवासीलाई आधारभुत स्वास्थ्य सुविधा पु¥याउने ध्ययले नगरपालिकाका ५ ठाउँमा शहरी स्वास्थ्य केन्द्र (पिनालेक, मना, कोर्ध, पाटा र रजाली) स्थापना भएका छन् भने साविकका स्वास्थ्य चौकीलाई सुविधासम्पन्न बनाउने अभियान समेत संचालन भएको छ ।

धार्मिक तथा प्राकृतिक सौन्दर्यताको खानी बडिमालिका मन्दिरसम्म सहज तीर्थयात्रा गर्नका लागि यस आवमा २० लाख बजेट विनियोजन गरेको छ भने नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि समृद्धिका लागि गन्तव्य बडीमालिका नाम दिएर पर्यटकीय क्षेत्रको सम्भाव्यतासमेत अध्ययन सम्पन्न गरिसकेको छ ।

त्यसै गरी अन्य योजनामा बुढाकोर्ध मालिका केवलकार सम्भाव्यता अध्ययन, थुवाकाँधमा नमुना त्रिकोण झोलुङ्गे पुल निर्माण, मालिका मन्दिरमा १ हजार सिँढी निर्माण, शिक्षा क्षेत्रमा क्रान्तिकारी रुपान्तरणका लागि नगर शिक्षकको व्यवस्था, बडीमालिका रिङ्गरोड निर्माण कार्य प्रारम्भ, कृषकसँग नगर प्रमुख कार्यक्रम रहेका छन् ।

त्यसै गरी अन्य कार्ययोजनामा महिलासंग उप–प्रमुख समाज सुधार कार्यक्रम, सफा र स्वच्छ बडीमालिका सफाई अभियान, जिल्लाकै पहिलो सुविधा सम्पन्न कार्यालय स्थापना, सबै वडा कार्यालयसम्म सडक सञ्जाल, बहुउद्देश्यीय मना कोर्ध सिँचाइ कुलो निर्माण कार्य प्रारम्भ, वैकल्पिक ऊर्जा प्रवद्र्धनका गर्न गोबर ग्याँस कार्यक्रम रहेका छन् ।