नेपाल समाचारपत्र, गोरखा
नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो सांसदबापत् पाएको तलबभत्ता विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्नुभएको छ । उहाँले आफू निर्वाचित भएलगत्तै आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्च गर्ने उद्घोष गर्नुभएको थियो ।
हिजोआज गोरखाको गाउँगाउँमा आकस्मिक सेवाका लागि एम्बुलेन्स किन्ने अभियान सञ्चालन भइरहेको छ । केही दिनअघि मात्र अजिरकोट गाउँपालिका भच्चेक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएका दवाडी हिजोआज आफ्ना क्षेत्रअन्तर्गत सबै गाउँपालिकामा घरदैलो अभियान चलाउनुभएको छ ।
यसै सिलसिलामा सांसद दवाडीले सिरानचोक गाउँपालिका–१ केराबारीमा शिवशक्ति आमा समूहलाई १ लाख रुपियाँ प्रदान गर्नुभएको छ । त्यसै गरी सोही वडाको तल्लोबेंसीमा ल्होसारको अवसर पारेर उहाँले २५ हजार रुपियाँ सहयोग गर्नुभएको छ ।
गत हप्ता मात्रै उहाँले सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा एम्बुलेन्स किन्नका लागि सिर्जनशील ग्रामीण युवा समाजलाई ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गर्नुभएको थियोे । त्यसै गरी खहरेमा झोलुङ्गे आमा समूहलाई ५० हजार रुपियाँ तथा माथिल्लो गोहोरेको आमा समूहलाई ४० वटा कुर्ची पनि सहयोगस्वरुप प्रदान गर्नुभएको थियो ।
यसबाहेक उहाँले मन्दिर पुनर्निर्माणमा रकम खर्च गर्नुभएको थियो । सुलिकोट गाउँपालिका–८ पन्द्रुङ तिनखाँडेमा रहेको शिव मन्दिर पुनर्निर्माणका लागि ५० हजार रुपियाँ सहयोग गर्नुभएको थियो । यस्तै सोही गाउँपालिका–७ पाँचखुवा देउरालीको अमले भन्ने गाउँमा रहेको जनचेतना आमा समूहलाई १५ हजार आर्थिक सहयोग गर्नुभएको थियो ।
सुलिकोट गाउँपालिका–७ मा रहेको शैलपुत्री माध्यमिक विद्यालयमा ५५ हजार ५ सय ५५ रुपियाँको अक्षयकोष खडा गर्नुभएको छ । सोही अक्षयकोषबाट आउने ब्याजबाट गरिब तथा जेहनदार छात्रछात्रालाई छात्रावृत्ति प्रदान गर्ने समेत उहाँले घोषणा गर्नुभएको छ ।
सांसद दवाडीले यसअघि सिरानचोक गाउँपालिका–७ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालय श्रीनाथकोटमा ५५ हजार ५ सय ५५ रुपियाँको अक्षयकोष स्थापना गरिसक्नुभएको छ । सोही अक्षयकोषबाट आएको ब्याजले गरिब तथा जेहनदार विद्यार्थीलाई पोसाक, कापी र कलम वितरण गरिने सांसद दवाडीले बताउनुभयो ।
भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पु¥याउँदै आउनुभएका दवाडीले आफू निर्वाचित भएपछि आफ्नो वाचा पूरा गर्ने क्रममा उहाँ यति बेला गाउँघर अभियानमा सक्रिय हुनुहुन्छ । उहाँको क्षेत्रअन्तर्गत अजिरकोट, सुलीकोट र सिरानचोक गाउँपालिका पर्छ । लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गर्नुभएका उहाँ विसं २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा निर्वाचित सांसद हुनुहुन्छ ।











प्रतिक्रिया