बंगलादेशमा चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्दै शेख हसिना

0
Shares

ढाका, बंगलादेशमा आइतबार भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिगले भारी बहुमत ल्याएको छ। लिगले नेतृत्व गरेको गठबन्धन संसदका २९८ मध्ये २८७ सिटमा विजयी भएको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ।
प्रधानमन्त्री हसिनाको क्षेत्र गोपालगञ्जमा उनले २ लाख २९ हजार ५ सय ३९ मत पाएकी छन् भने उनका प्रतिष्पर्धी उम्मेदवारले जम्मा १२३ भोट ल्याएका छन्।

जितसँगै हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन्। सन् १९९६मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना सन् २००९पछि लगातार बंगलादेशको प्रधानमन्त्री छन्। उनी बंगलादेशमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति बनेकी छन्।

आइतबारको प्रमुख प्रतिपक्षी बंगलादेश नेशनल पार्टीले जम्मा ६ सिट पाएको छ। उक्त दलले सन् २०१४ को चुनाव बहिष्कार गरेको थियो।

विपक्षी गठबन्धनले मतदानमा धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेको छ। विपक्षी नेता कमल हसेनले आफूहरूले निर्वाचन आयोग समक्ष निष्पक्ष प्रशासनबाट नयाँ चुनाव माग गरेको बताए।

चुनावी हिंसामा कम्तिमा १७ जनाको ज्यान गएको थियो।