पोखरा । भदौरे युवा क्लब एवम् भदौरे आमा समूहको आयोजना र अन्नपूर्ण गाउँपालिका कास्कीको सहयोगमा भदौरेमा सञ्चालित २१ औं भदौरे(पंचासे) तमु ल्होसार तथा प्रथम कोदो महोत्सवको समापन भएको छ ।
गाउँपालिकाले गाउँपालिका भित्रका ११ वटै वडामा धेरै कोदो उत्पादन गर्ने तीन जना कृषकलाई पुरस्कृत गर्ने भएको छ । बढी उत्पादन गर्ने कृषक मध्ये पहिलोलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रोलाई दुई हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले समापन कार्यक्रममा बताए ।
उहाँले गाँउपालिकाका ११ वटै वडाभित्र उत्पादन गरेको कोदोको बजारीकरण र खपतको जिम्मा गाँउपालिकाले लिने नीति बनाएको बताए । कोदो खेतिप्रति आकर्षण बढाउन किसानह्ररुले उत्पादन गरेको कोदोलाई प्रसोधन गर्ने आधुनिक मेसिन पनि गाउँपालिका, कृषि विकास कार्यालय र वडाहरुले समन्वय गरेर खरिद गरेको जसबाट परम्परागत विधि अपनाउनबाट किसानहरुले छुटकारा पाएको गाउँपालिकाका अध्यक्ष कुवँर बताउछन ।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले स्वास्थ्यको लागि समेत बहु उपयोगी कोदो वर्षौसम्म सुरक्षित गर्न सकिने अन्न भएकोमा जोड दिदै यसको व्यवसायिक खेती गरिनुपर्ने बताईन । अन्नपूर्ण गाउँपालिका वडा नं ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, वडा नं ४ का अध्यक्ष भरतबहादुर केसी लगायतले कोदो खेतीको विकास र विस्तार गर्दै स्थानीयवासीको आय आर्जनमा जोड दिनुपर्ने उल्लेख गरे ।
महोत्सवमा कोदोका बिभिन्न २१ वटा परिकार र विभिन्न खेलकूदका कार्यक्रम सञ्चालन भैरहेका छन । महोत्सवमा कोदोको सेलरोटी, सुख्खारोटी, ममः खोले, दाम्ले मिठाईँ, संखे चक्लेट, ढिँडो, जेरी, पुरी, निमकिन, पकौडा, गिलो, तोङ्वा, केक, लगायतका २१ वटा परिकारहरु बनाईएका थिए ।
गाउँको पर्यटन प्रवद्र्धन र साँस्कृतिक पहिचान सहित कोदोको उत्पादन हुँदै आएको गाउँमा कोदो महोत्सव समेत थपिएको भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले बताए । महोत्सवमा ७० मुरी कोदो संकलन भई सबै खपत भएको गुरुङले बताए ।











प्रतिक्रिया