अब कैदीबन्दीलाई कारगारभित्रै स्वास्थ्य सेवा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज कारागारका कैदीबन्दीको उपचारलाई सहज बनाउने उद्देश्यले कारागार परिसरमा निर्मित उपचार केन्द्र सुचारु गरिएको छ ।

वीरगन्जका उद्योगी अशोककुमार वैदको पहलमा निर्माण भएको स्वास्थ्य उपचार भवन ४ वर्षअघि नै उद्घाटन भए पनि स्वास्थ्य सेवा सुचारु हुन सकेको थिएन ।

आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र उद्योगी वैदले संयुक्त रुपमा रिवन काटेर सो संरचनामा उपचार सेवा सुचारु गरेका छन् । कारागारका कैदीबन्दीलाई उपचारका लागि अन्य अस्पतालमा लैजान समस्या परिरहेको अवस्थामा उपचार केन्द्र सञ्चालनमा आएपछि सहज भएको जेलर गणेश भण्डारीले बताए ।

कारागारमा मेडिकल अधिकृत र स्वास्थ्य सहायकको दरबन्दी रहेकोमा दुवै जना उपलब्ध छैनन् । स्थानीय अस्पतालमा कार्यरत ४ जना चिकित्सकले दैनिक ३ घण्टाका दरले सेवा दिने व्यवस्था मिलाइएको छ ।

यसअघि सो भवनमा कैदीबन्दीको उपचार नहुँदा कारागार सुरक्षाका लागि खटिएका प्रहरीले आवासको रुपमा प्रयोग गर्दै आएका थिए । दाता र सरोकारवालाले यसको विरोध गरेपछि उपचारको सेवा सुचारु गरिएको हो ।