सामुदायिक क्याम्पस आर्थिक संकटमा, दाताकै भरमा चल्दै

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
समुदायको पहलमा संचालन गरिएको जिल्लाको वाहकी सामुदायिक क्याम्पस आर्थिक अवस्थाका कारण समस्यामा परेको छ । जिल्लाको दुर्गम बिहादी गाउँपालिकाको वाहकीमा रहेको उक्त क्याम्पस आर्थिक कारणले चलाउन समस्या भएको हो ।

क्याम्पस संचालन गर्न समस्या हुन थालेपछि स्थानीय पालिकाहरुलाई क्याम्पसलाई निरन्तरता दिन स्थानीयवासी तथा विद्यार्थीहरुले समेत आग्रह गरेका छन् । क्याम्पसको आठौं वार्षिकोत्सवको कार्यक्रममा बोल्ने विद्यार्थीहरु तथा स्थानीयवासीहरुले क्याम्पस आवश्यक रहेको तर संचालनमा समस्या भएकाले आर्थिक श्रोत व्यवस्थापन गर्न पालिकासँग आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले सामुदायिक क्याम्पस स्थानीयस्तरको माग भएको तर राज्यले उचित व्यवस्थापन गराउन नसक्दा समुदायको बोझ बनेको धारणा राख्नुभयो । उहाँले एक तहमा एक सामुदायिक क्याम्पसलाई राज्यले आंगिक क्याम्पसकाले रुपमा विकास गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पब्लिक क्याम्पस संघ पर्वतका अध्यक्ष गोबिन्द पहाडीले त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पसको सम्बन्धन दिने तर व्यवस्थापनमा कुनै चासो नदिने कारण समस्या बढ्दै गएको बताउनुभयो । जिल्लाको दुर्गम वाहकीमा गाउँलेहरुको प्रयासमा संचालित उक्त क्याम्पस संचालनका लागि मासिक २ लाख बढि खर्च हुने तर क्याम्पससँग आर्थिक अवस्था नभएकाले अभिभावकहरुसँग चन्दा मागेरै चलाउनुपर्ने बाध्यता रहेको क्याम्पसका पूर्व क्याम्पस प्रमुख पदमराज न्यौपानेले बताउनुभयो ।

गाउँमा उच्च शिक्षासम्म अध्ययन गर्ने क्याम्पस नहँुदा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुले बिचैमा पढाई छाडेर बस्नु पर्ने भएपछि अभिभावकको पहलमा गाउँमै क्याम्पस संचालन गरिएको हो । विगत ८ बर्षदेखि क्याम्पस संचालनमा आएपछि कमजोर आर्थिक अवस्था भएका र बाहिर गएर बढ्न नपाउने विद्यार्थीहरुका लागि सहज भएको हो ।

उच्च माध्यामिक विद्यालयको पढाई पुरा गरेपछि शहरमा गएर पढ्न नसक्दा पढाई नै विचमा छोड्नुपरेका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा लिनका लागि गाउँमै क्याम्पस खोल्नुपरेको बाध्यता बताउनुहुन्छ क्याम्पस प्रमुख एकनारायण भट्टराई । क्याम्पस संचालनका लागि अन्य स्रोत नभएपछि गाउँलेहरुले चन्दा उठाएर व्यस्थापन गरिएको व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद भुसालले बताउनुभयो ।

क्याम्पस संचालन गर्नका लागि स्थानीय पालिकाले समेत सहयोग गरेको छ । स्थानीय बिहादी गाउँपालिकाले यस वर्ष पनि १५ लाख रुपीयाँ बिनियोजन गरेको तर त्यसले पनि प्रयाप्त नहुने गाउँपालिका अध्यक्ष तथा क्याम्पस अध्यक्ष भुसालको भनाई छ । गाउँमै उच्च शिक्षा दिन सकेमा शिक्षाको विकास हुनुका साथै न्यून आर्थिक अवस्था भएकाहरुलाई सहज होस् भनेर यो पहल गरेका हौँ भुसालले भन्नुभयो–सबैको प्रयाशमा क्याम्पस संचालन भएको छ ।
गाउँमै उच्च शिक्षासम्म पढाई हुने भएपछि गाउँमा बस्ने बुहारीहरु र घरकै कारण वाहिर जान नसक्नेहरुलाई समेत उच्च शिक्षा लिन सजिलो भएको विद्यार्थी लक्ष्मी भुसालले बताउनुभयो ।

क्याम्पसमा हाल मानविकी र शिक्षा शास्त्र संकायमा स्नातक तहको पढाई हुने गरेको र आगामी बर्षदेखि बाणिज्य शास्त्र संकायमा समेत पढाउने गरि भौतिक तथा आर्थिक स्रोतको खोजि गरिएको क्याम्पस प्रमुख भट्टराईले बताउनुभयो । शुरुमा वाहकी उच्च माध्यामिक विद्यालयको भवनमा पढाउने गरिएको भएपनि साविकका जिविस, गाविस, हालका पालिका तथा वडाहरु र समुदायको पहलमा क्याम्पस संचालनका लागि छुट्टै भवन बनाएर कक्षा संचालनको तयारीमा रहेको उहाँको भनाई छ ।

दुर्गम गाउँमा क्याम्पस संचालन गर्नु कठिन हो क्याम्पस प्रमुख भट्टराईले भन्नुभयो कठिन अवस्थामा भएपनि सबैको पहलमा शिक्षाका लागि प्रयाश गरेका छौं । क्याम्पस भवन निर्माणका लागि बिभिन्न दातृनिकाय संग सहयोग मागेर काम गरेको उहाँको भनाई छ ।

हाल क्याम्पसमा १ सय जना बिद्यार्थीहरु अध्ययनरत रहेकाछन् । विद्यालय र उच्च माध्यामिक सहित उच्च शिक्षा सम्मको अध्ययन एकै ठाउँबाट हुने भएपछि विद्यार्थीहरुलाई अन्य जिल्लामा जानुपर्ने बाध्यताको समेत अन्त्य भएकोछ ।

पर्वतका विभिन्न पालिकाहरुमा गरि अहिले १२ वटा सामुदायिक क्याम्पसहरु संचालनमा रहेका छन् । केही ठाउँमा अति आवश्यक भएर खोलिएका छन् भने केही क्याम्पसहरु लहडको भरमा खोलिएका कारण आर्थिक श्रोतको अभाव तथा विद्यार्थी संख्या न्यून भएका कारण बन्द हुने अवस्थामा रहेको बताइएको छ ।
सामुदायिक क्याम्पसलाई संघीय सरकार, प्रदेश र स्थानीय सरकारले कसरी व्यवस्थापन गर्न सकिने हो त्यसको योजना नबनाउँदा यस्तो समस्या आएको पब्लिक क्याम्पस संघका अध्यक्ष गोबिन्द पहाडीको भनाई छ।