आइतबारदेखि बुटवलमा सडक खाना महोत्सव

0
Shares

बुटवल, (नेस)
आइतबारदेखि बुटवलमा सञ्चालन हुने प्रथम सडक खाना महोत्सव अवधिभर पाहुनालाई आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुट हुने भएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा आइतबार र सोमबार महोत्सव सञ्चालन हुने छ । सडक खाना महोत्सवमा थारु, मगर, थकाली, गुरुङ, क्षेत्री,नेवार समुदायका खानाका परिकार रहने संघका अध्यक्ष समुन्द्र जिसीले बताउनुभयो ।

त्यसवाहेक इण्डियन ,चाइनिज, जापानिज, इटालियन र थाई खानाका परिकारसमेत रहने प्रचारप्रसार संयोजक वाबुराम गौतमले जानकारी गराउनुभयो ।

‘सडकमै खाऔं सडकमै नाचौं सडकमै रमाऔं’ भन्ने नाराका साथ हुने सडक खाना महोत्सव सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय र जातजातिका कला संस्कृति झल्कने खालका नाचगान हुने संघका महासचिव माधव कुमार खनालले बताउनु भयो ।

बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ अन्तर्गत पर्ने मिलनचोक तिनकुनेदेखि होराइजनचोकसम्मको सडकमा हुने सडक खाना महोत्सवमा यस क्षेत्रका होटलले दिने सेवा सुविधाहरुको बारेमा जानकारी गराउनुका साथै विभिन्न जातीगत खानपान र जातीय संस्कृति झल्किने भेषभँषाको प्रदर्शन गर्ने आयोजकले जनाएका छन् ।

महोत्सवमा ५० वटा स्टल रहने छन् । करिब ५० हजार दर्शकले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने लक्ष्य आयोजकले लिएका छन् ।